प्रधानमन्त्रीलाई खुला पत्रः प्रतिवेदनलाई कुरीकुरी भन्दै आयोगमाथि लगाइयो हस्तक्षेपको आरोप

चैत १२, काठमाडौँ । सुनसरीका संजय खड्काले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै कार्की आयोगको प्रतिवेदन चुहावट र लापरवाहीबारे गम्भीर प्रश्न उठाएका छन् ।

उनले प्रतिवेदन समयमै सार्वजनिक नगर्नु, चुहावट हुनु र जिम्मेवार व्यक्तिमाथि कारवाही नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । साथै, आयोगलाई स्वतन्त्र रूपमा काम गर्न नदिइएको आरोप पनि उनले लगाएका छन् । पत्रमा उनले यस्ता घटनाले गलत नजिर बस्ने चेतावनी दिँदै भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिन सरकारसँग स्पष्ट कदम चाल्न आग्रह गरेका छन् ।
पत्र जस्ताको त्यस्तै

मितिः २०८२/१२/१२
श्री सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
सिंहदरबार, काठमाडौं ।
विषय: कार्की आयोगको प्रतिवेदन चुहावट र लापरवाही सम्बन्धमा ।
महोदय,
अरु अन्य केहि भूमिका नबाँधिकन म एक नागरिकको हैसियतले आफना कुरा राख्ने अनुमति चाहन्छु ।
प्रविवेदनलाई प्रश्नावलीको आधारमा मेरो अंक: २५/१०० (फेल): अनि सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईं कति दिनुहुन्छ ? सेनापति सिग्देल तिमीले नेपालकै सबैभन्दा पुरानो र गौरवशाली संस्था नेपाली सेनाको अपमान गर्यौ, गौरी कार्की तिमीले आयोगको धज्जी उडायौ, प्रम सुशीला कार्की तमीले जेन्जीको मानमर्दन गर्यौ । अनि लाज पचाएर भन्छौ- “All Izz Well” ! करीकुरी !!
भैगो, म केहि बोल्दिन, मेरा मात्र फगत केहि प्रश्न छन्, सम्माननीय प्रधानमन्त्रीज्यू ।
१) प्रतिवेदनको कुरा चलिरहँदा, भैगो, विवादास्पद महान्यायाधिवक्ता र स्वकिय सचिवबारे हजुरलाई केहि सोध्दिनँ ?
२)समयमा प्रतिवेदन सार्वजनिक नगरेर गल्ती गर्यौ–गर्यौ, हातैमा आको प्रतिवेदन सार्वजनिक नगरेर जेन्जी आन्दोलनको धज्जी किन उडायौ ? आयोगले आफ्ना ९ कर्मचारीलाई पुरस्कृत र बढुवा गर्ने सिफारिस गर्नेले प्रतिवेदन लेखनको खर्च सार्वजनिक गर्नु पर्दैन ?
३) प्रतिवेदन लिक कसरी भो ? छानविन हुनुपर्छ कि पर्दैन ? चुहावतकर्तालाई कारवाही हुन्छ कि हुँदैन ? कि कार्की आयोग जस्तो थमथमाउनका लागि अर्को हावादारी R U comedy me? टाइपको आयोग गठन गर्ने ?
४) कैदी हत्या गर्ने, आफ्नो परमाधिपतिको भवन जल्दा लाटाले पापा खाए जस्तो टुलुटुलु हर्ने, राष्ट्रिय सम्पत्ति जल्नदिने, देश स्वाहा भएको पर्खिने र जलेर सबै सकिएपछि मात्र कदम चाल्ने, कार्की आयोग के हो–को हो, हामी चिन्दैनौं भन्ने र प्रेस सम्मेलन गरेर सिंहदरबार जल्दा चिरिबाबुले पठाएको दमकललाई अरुले नै पठाएको भनी भ्रम छर्ने शंकास्पद सेनापति अशोकराज सिग्देलज्यूलाई कारवाहीको सिफारिस किन भएन प्रधानमन्त्रीज्यू ?
५) कार्की आयोगको लापरवाहीको जिम्मा कस्ले लिन्छ ? जे गर्छु भनेर आयोग बनेको हो, त्यो नगर्नेलाई के गर्ने ? सम्माननीय प्रधानमन्त्रीज्यू, प्रतिवेदनको यहि नजिरलाई टेकेर भोलि बालेन, रविलगायतका घर जलाउन थाले भने के गर्ने ? छोड्ने ? भोलि फेरि सिंहदरबार जलाए के गर्ने ? छोडने ?
दर्जनौं मान्छे जिउँदै जलाए के गर्ने ? छोडने ? कैदी भगाए के गर्ने ? छोडने ? प्रहरीलाई मार्दै हिँडे के गर्ने ? छोडने ? टिओबीले तान्डव देखाए के गर्ने ? छोडने ? इन्फ्लुएन्सरले झुट र भ्रम फैलाउँदै हिँडे के गर्ने ? छोडने ?
एउटा रामेसँगको रिसको कारण अर्कै श्यामेलाई मैले जे गरे पनि हुने ? श्यामेको परिवारलाई जे गरे पनि हुने ? श्यामेको धर्मपत्नीलाई जलाए पनि हुने ? श्यामेको घरको चेलिबेटीलाई जे बोले पनि हुने ? जे गरे पनि हुने ? हैट, हाम्रो समाज कता जाँदैछ प्रधानमन्त्रीज्यू ? सम्माननीय प्रधानमन्त्रीज्यू, प्रतिवेदनबाट हामी कस्तो संस्कार विकसित गर्न खोज्दै छौं ? हामी कस्तो नजिर स्थापित गर्न खोज्दै छौं ?
सम्माननीय प्रधानमन्त्रीज्यू, यद्यपि आयोगले गर्न नखोजेको होइन, इच्छा शक्ति नदेखाको होइन तर डर र त्रासका कारण निष्कर्षविहिन हुन पुग्यो प्रतिवेदन, किनकि आयोगलाई स्वतन्त्र र निक्ष्पक्ष रुपमा काम गर्न दिइएन, किन ?
६)आदरणीय सुशीला कार्कीज्यू के तपाईं विदा हुनुअघि आफ्नो कार्यकालमा आफूले गरेका mistakes र blunders लाई सच्चाएर एक सम्माननीय उदाहरणीय तथा अनुकरणीय प्रम बन्नसक्नु हुन्छ ?
अब भोलि सपथ खाने सरकारलाई एउटै कवितात्मक प्रश्न ।
जेन्जीको आँधीलाई सिँढी बनायौ,
पुरानाप्रतिको वितृष्णा उचाल्दै
देशलाई श्मशान बनायौ,
प्रतिवेदन र कारवाहीको
खोक्रो आश्वासन दिलायौ,
धमिलो पानीमा माछा मार्न
जमातलाई आफ्नो पक्षमा थमथमाउन,
जेन्जीको आँसु र रगतको राजनीतिकरण गरायौ ।
त्यतिका खण्ड, प्रपञ्च गरी
आखिर चुनावा जित्नु न थियो,
जनताले जिताइदिए,
अब भुत होइन भविष्य सोध्छु
के तिमी आफैं जित्न मात्रै आएका हौ,
साँच्चै भन,
के तिमी जनतालाई जिताउन तयार छौ ?
अन्त्यमा, तोकिएको समय सीमाभित्र शान्तिपूर्ण तथा भयरहित वातावरणमा चुनाव सम्पन्न गरी लोकतन्त्र बचाउनु भएकोमा प्रधानमन्त्रीज्यूलाई मुरीमुरी धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
आगे हजुरको जो आज्ञा ।
भवदीय,
(खुसी र सुखी भावका साथ हरेक नेपाली हाँसेको, नाँचेको र मस्तले बाँचेको हेर्न चाहने)
संजय खड्का
इटहरी २०, तरहरा
सुनसरी, कोशी प्रदेश ।
Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.