विष्णु पौडेलको चुनावी खर्च २८ लाख

फागुन २६, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले फागुन २१ गते भएको निर्वाचनमा २८ लाख रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।

रूपन्देही क्षेत्र नं. २ बाट उम्मेदवार बनेका पौडेलले मंगलबार निर्वाचन आयोगमा चुनावमा भएको खर्च विवरण बुझाएका हुन्। पौडेलले बुझाएको खर्च विवरणमा सबभन्दा बढी सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ९७ हजार २७५ रुपैयाँ खर्च भएको उल्लेख छ। त्यस्तै, छापा एवं विद्युतीय प्रचारप्रसारमा ८ लाख ३४ हजार, कार्यालय सञ्चालनमा २ लाख ६४ हजार, विविधमा २ लाख २२ हजार ३२५, छपाइमा १ लाख ९० हजार खर्च भएको उल्लेख छ। त्यस्तै, एसएमएस १ लाख ७५ हजार, मतदाता नामावली खरिद ९८ हजार, गोष्ठी तथा कार्यकर्ता परिचालन ५५ हजार, अन्तर्क्रिया ४५ हजार र प्रतिनिधि परिचालनमा २६ हजार ५ सय गरी २८ लाख ७ हजार १ सय रुपैयाँ खर्च भएको निर्वाचन आयोगमा पेस गरेको विवरणमा उल्लेख छ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारले गर्न पाउने अधिकतम खर्च निर्धारण गरेको थियो। आयोगले प्रत्यक्षतर्फका १६५ वटा निर्वाचन क्षेत्रलाई भौगोलिक अवस्था, पहुँच, सुविधा र सेवा नेटवर्क मूल्याङ्कनका आधारमा पाँच वर्गमा विभाजन गरी २५ लाख देखि ३३ लाख रुपैयाँ सम्मको खर्च निर्धारण गरिदिएको थियो।

जसअनुसार रूपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूले २९ लाख रुपैयाँको सीमाभित्र रहेर खर्च गर्न पाउने गरी आयोगले खर्च निर्धारण गरिदिएको थियो। जिल्ला निर्वाचन कार्यालय रूपन्देहीले सूचना जारी गर्दै निर्वाचनको मत परिणाम सार्वजनिक भएको ३० दिन भित्रमा आफ्नो चुनावी खर्च विवरण पेस गर्न सबै उम्मेदवारहरूलाई आग्रह गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.