फाल्गुन १२, काठमाडौँ । कीर्तिपुर नगरपालिका वडा नं. ६ स्थित चारघरेमा श्रीधर बिष्णु मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको छ ।
चारघरे स्थित जालन्धर पीठमा जालपादेवी मन्दिर पुर्ननिर्माण क्रममा श्रीधर विष्णुको मूर्ति भेटिएपछि नयाँ मन्दिर निर्माण गरी आइवार प्राण प्रतिष्ठा गरिएको हो । २०७२ सालको भूकम्पबाट शक्तिपीठलाई क्षति पु¥याएपछि, २०७५ फागुण बाट पुर्ननिर्माण कार्य सुरु गरिएको थियो । सोही क्रममा २०७५ चैत्र १६ गतेका दिन जलहरी सहितको श्रीधर विष्णुको मूर्ति फेला परेको थियो । मूर्ति फेला परेपछि बृहत चारघरे धार्मिक समितिले स्थानीय सरकार, प्रहरी हुँदै पुरातत्व विभागलाई जानकारी गराएको थियो ।
२०७६ बैशाख २७ गते देखि पुरातत्व विभागले उत्खनन् कार्य संचालन गरेको थियो । बिभागले उत्खनन क्रममा मन्दिर तथा सतलको भग्नाबशेष समेत प्राप्त भएको थियो । प्राप्त मूर्ति आठौं÷नवौं शताब्दीको कलाका बिशेषता युक्त श्रीधर बिष्णुको रहेको जनाएको छ । केही भाग टुटेको मूर्ति श्रीधर विष्णुको मूर्तिसँग मिल्दोजुल्दो भएपनि विष्णुको २ तिर नाग राखिएकोले यो मूर्ति तत्कालिन समयकै विश्व स्वरुपको मूर्ति हुन सक्छ भनि बरिष्ठ पुरातत्वविद उद्दब आचार्यले पेश गर्नु भएको उत्खननको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
भेटिएको मूर्ति बृहत चारघरे धार्मिक समितिको संरक्षणमा राखिएको छ । शक्ति पीठ नजिकै मन्दिरको भग्नावशेष सहित श्रीधर बिष्णुको मूर्ति भेटिए पछि, बिष्णु मन्दिर निर्माण गरी पूजाआजा चलाउन स्थानीयले माग गरेका थिए । यसै क्रममा पुरातत्व विभागले भग्नावशेष भएको स्थानमा मन्दिर बनाउन अनुमती नदिएतापनि बृहत चारघरे धार्मिक समितिको पहलमा कीर्तिपुर नगरपालिकाले १२ लाखको बजेट बिनियोजन गरी पुरातात्विक स्थाललाई असर नपर्ने गरी जालपादेवी मन्दिर प्राङ्गणमा नै बिष्णु मन्दिर निर्माण गरिएको छ । मन्दिरको डिजाइन की.न.पा. ६ नं. वडाका प्राविधिक प्रभाष महर्जनले गरेका हुन ।
विष्णु मन्दिरको संरचना नगरपालिकाको आर्थिक सहयोगमा बनेतापनि मूर्ति निर्माण तथा अन्य ब्यवस्थापन गर्न स्थानीयले चन्दा संकलन गरेका थिए । पाँच हजार भन्दा बढी रकम चन्दा दाताको नामावली मन्दिर प्राङ्गणमा राखिने शिलालेखमा लेखिनेछ । हालसम्म देखिएका श्रीधर विष्णुको मूर्तिमा दायाँ बायाँ लक्ष्मी र गरुडको आकृती भएपनि चारघरेमा भेटिएको मूर्तिमा दूई नाग कन्यासमेत भएकोले यो मूर्ति र मन्दिर बिशेष रहेको छ ।

