इण्डोनेसियामा भूकम्प र सुनामीले १२ सयभन्दा बढिको मृत्यु

असोज १६, काठमाडौं । इण्डोनेसियामा विनाशकारी भूकम्प र सुनामीका कारण मृत्यु हुनेको संख्या १२ सय नाघेको छ ।

यसअघि यो संख्या ८४४ थियो । अहिले मृतकको संख्या बढेर १२ सय नाघेको राहत तथा उद्दारमा जुटेका अधिकारीहरुले जनाएका छन् । इन्डोनेसिया रेडक्रसका अधिकारीहरुका अनुसार एउटा चर्चमा ३४ विद्यार्थीको शव भेटिएको छ । उनीहरुको एक साथ दाहसंस्कार गरिएको छ । ५४ जना अझै वेपत्ता छन् ।

पालु शहरको रोअ होटलमा अझै केही मानिस फसेका छन् । यो संख्या ५० हाराहारी भएको अनुमान छ । इन्डोनेसियामा शुक्रबार ७.५ रेक्टर स्केलको भूकम्प आएको थियो । त्यसपछि तटिय क्षेत्रमा शक्तिशाली सुनामी आयो । प्रभावित क्षेत्रमा ६० हजार मानिस घरबारविहीन भएका छन्, जसलाई मदतको जरुरी छ । हिलोको दलदल रहेको क्षेत्रको स्थिति भयावह रहेको अधिकारीहरुले बताएका छन् ।

भूकम्प तथा सुनामी प्रभावितहरु पाल टाँगेर बसेका छन् । उनीहरुले अझै राहत पाएका छैनन् । पानीका लागि समेत समस्या छ । सडक, विमानस्थल र सञ्चार सम्पर्क पनि टुटेको छ । भूकम्पले अस्पतालहरुमा समेत क्षति पुगेको छ, यसले घाइतेहरुको उपचार समेत खुला चौर र त्रिपालमुनी गर्नु पर्ने अवस्था छ । हजारौं मानिस पालु एयरपोर्ट सञ्चालनको आशामा छन् । प्रभावितहरुमा बालबालिकाको अवस्था निकै दयनीय रहेको बीबीसीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.