माघ ३, काठमाडौँ । तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व मञ्जुश्री संवत् २८६२ ता ल्हो (घोडा वर्ष) सोनाम ल्होछार– २८६२ काठमाडौँको टुुँडिखेलमा भव्यताका साथ मनाइने भएको छ ।
शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै माघ ४ र ५ गते नेपाल तामाङ घेदुङ र राष्ट्रिय तामाङ घेदुङको संयुक्त आयोजनामा विशेष औपचारिक कार्यक्रमका साथ विभिन्न साँस्कृतिक कार्यक्रमहरू हुने घेदुङका महासचिव जगतमान लामा दोङले प्रेस वक्तव्यमार्फत जानकारी दिए । यस वर्ष नयाँ वर्ष अर्थात् ल्होछारलाई थप व्यवस्थित र सभ्य बनाउन नेपाल तामाङ घेदुङको संयोजनमा १०१ सदस्यीय रहेको मूल समारोह समिति गठन गरिएको बताएको छ । समितिअन्तर्गत सांस्कृतिक कार्यक्रम, स्वयंसेवक, प्रचार–प्रसार, स्वागत तथा मञ्च व्यवस्थापनलगायत उपसमितिहरू सक्रिय रूपमा तयारीमा जुटेका छन्।
माघ ५ गते हुने मुख्य समारोहमा प्रधानमन्त्री सुशिला कार्की प्रमुख अतिथिका रूपमा सहभागी रहने जनाइएको छ । सो कार्यक्रमका दिन तामाङ समुदायबाट उच्च शिक्षा हासिल गर्न सफल व्यक्तित्वहरू, सामाजिक, साँस्कृतिक एवम् नीजामति क्षेत्रमा उच्च पदमा रही राष्ट्र सेवामा योगदान पु¥याउनुभएका व्यक्तित्वहरूलाई समेत विशेष सम्मान गरिने महासचिव दोङले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै मूल समारोह समिति संयोजक मोहन गोले तामाङले सोनाम ल्होछार तामाङ जातिको सामाजिक, सांस्कृतिक तथा धार्मिक जीवनसँग अभिन्न रूपमा जोडिएको पर्व भएको बताए । संयोजक तामाङले ल्होछार परम्परा बाह्र वर्षे ल्हो प्रणालीमा आधारित रहेको र यसले तामाङ समुदायको इतिहास, सभ्यता र पहिचानलाई प्रतिबिम्बित गर्ने उल्लेख गरे । तामाङ संस्थाहरू ल्होछार कार्यक्रमका बाहेक अन्य मुद्धमा एकता नभएको भन्ने पत्रकारको जिज्ञासामा संयोजक तामाङले संस्थाहरूको आ–आफ्नै उद्देश्यअनुरूप कार्य सम्पादन हुने हुँदा एकता हुनु आवश्यक नरहेको बताए । उनले तामाङ घेदुङ र राष्ट्रिय तामाङ घेदुङको एकताबारे अबको दिनदेखि प्रश्न नगराउन सुझाए । दुवै घेदुङले तामाङ समुदायकै लागि काम गर्दै आईरहेको बताउँदै राजनीति दलहरू जस्तो एकता गर्न सहज नहुने बताए ।
सोनाम ल्होछार चन्द्र पात्रोअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि सुरु हुने गर्दछ। करिब ४७०० वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाइने गरिन्छ। नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्दछन्।
महोत्सवअन्तर्गत तामाङ समुदायका ताम्बा, बोन्बो र लामाहरूको विशेष सांस्कृतिक झाँकी, परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिनेछ। साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याती प्राप्त कलाकारहरूको प्रस्तुति रहने मूल समारोह समितिले जनाएको छ। कार्यक्रममा तामाङ समुदायका परम्परागत खानाका परिकार, भेषभूषा, पुस्तक तथा सांस्कृतिक पहिचान झल्किने सामग्रीहरूको प्रदर्शनी तथा बिक्रीका लागि स्टलहरू समेत राखिने जनाइएको छ ।
विगत ३५ वर्षदेखि निरन्तर रूपमा टुँडिखेलमा मनाइँदै आएको सोनाम ल्होछार महोत्सवमा यस वर्ष पनि तामाङ तथा गैर–तामाङ गरी लाखौँ दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रम विभिन्न टेलिभिजन, रेडियो तथा अनलाइन माध्यमबाट प्रत्यक्ष प्रसारण गरिनेछ। मूल समारोह समितिले सञ्चारमाध्यमलाई कार्यक्रमको समाचारलाई प्राथमिकताका साथ प्रकाशन–प्रसारण गर्न आग्रह गर्दै सोनाम ल्होछार–२८६२ ता ल्हो (घोडा वर्ष) को अवसरमा सबैलाई शुभकामना व्यक्त गरेको छ।

