राष्ट्रिय सभा निर्वाचन: सुनिलबहादुर थापा निर्विरोध निर्वाचित

विराटनगर । कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

राष्ट्रियसभा निर्वाचन अन्तर्गत अन्य समूह तर्फ एक सदस्य पदका लागि थापाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । नेकपाका उम्मेदवार हेमराज घिमिरे समयमै उम्मेदवारी दर्ता गर्न नआएपछि थापाको एकल उम्मेदवारी कायम भएको थियो ।

निर्वाचन अधिकृतको कार्यालय, कोशी प्रदेशले आइतबार थापा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेको हो । कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, ‘एक जना मात्र उम्मेदवार कायम हुन आएकाले देहायका उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिन्छ ।’

निर्वाचित थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन्। उनी यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट राजनीतिमा सक्रिय थिए । राप्रपाको राजनीतिक प्रभाव कमजोर बन्दै गएपछि थापा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

यसैबीच, कोशी प्रदेशमा महिला समूह तर्फ कांग्रेस–एमाले गठबन्धनबाट रोशनी मेचे र नेकपाबाट नमिता न्यौपाने उम्मेदवार रहेका छन् । दलित समूह तर्फ कांग्रेस–एमाले गठबन्धनबाट सोम पोर्तेल र नेकपाबाट खेमराज सुन्दास उम्मेदवार छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.