सार्वजनिक यातायातमा पुरानै भाडादर कायम

असोज १५, खोटाङ । मुलुकभर १० प्रतिशतले सार्वजनिक यातायातको भाडा बृद्धि गरिएकोबेला खोटाङमा भने पुरानै भाडा दरलाई कायम राखिएको छ। १० प्रतिशतले सार्वजनिक यातायातको भाडा बृद्धि गरिएसँगै असोज ९ गतेदेखि भाडा बढाइएको जिल्लामा केही समयपछि पुरानै भाडा दरलाई कायम गरिएको हो।

नजिकिँदै गरेको दशैं, तिहार र छठमा आवत–जावत गर्ने यात्रुलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालयले आइतबार बोलाएको यातायात व्यवसायी र प्रशासनको बैठकले केही समयअघि लागू गरिएको १० प्रतिशत भाडा बृद्धिलाई कायम नगरी पुरानै भाडा दरलाई यथावत राख्ने निर्णय गरेको हो। सरकार र यातायात व्यवसायीबीचमा मुलुकभर १० प्रतिशतले सार्वजनिक यातायातको भाडा बढाउने सहमति भए पनि चाडपर्वलाई मध्यनजर गर्दै जिल्लामा साबिककै भाडा कायम गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पाण्डेले बताए।

असोज ९ गतेदेखि १० प्रतिशतले भाडा बढाएका यातायात व्यवसायी प्रशासनको पहलमा पुरानै भाडा दर कायम गर्न सहमत भएका हुन्। कतिपय यातायात व्यवसायीले भने पुरानो भाडा दरभन्दा पनि कम दरमा यात्रुलाई ओसार–पसार गर्न तयार रहेको बताएका छन्। सरकार र यातायात व्यवसायीबीचमा सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढाउने सहमति भए पनि जिल्लामा सो अनुसार भाडा नबढाउने निर्णयले यात्रुलाई केही राहत मिलेको छ। दशैंतिहारको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि गरिएको भन्दै चौतर्फी बिरोध भइरहेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.