निर्मला हत्या प्रकरणः हत्यारा सार्वजनिकको माग गर्दै कञ्चनपुर बन्दको आह्वान

असोज १५, काठमाडौं । निर्मला हत्याकाण्डको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै भोलि कञचनपुर बन्दको आह्वान गरिएको छ।

नेपाल विद्यार्थी संघले प्रतिवेदनका साथमा निर्मलाको हत्यारा सार्वजनिकको माग गर्दै मङगलबार (भोलि) कञ्चनपुर बन्दको आह्वान गरेको हो। घटना घटेको दुई महिनाभन्दा बढी भइसक्दा पनि हत्यारा पहिचान हुन नसक्नु र छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिनु शंकास्पद भएको भन्दै प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कञ्चनपुर बन्दको कार्यक्रम राखिएको नेविसंघका केन्द्रीय सदस्य गणेश भट्टले नेपालखबरलाई बताए। उनले बजार, यातायात, कलकारखाना, शिक्षण संस्था सबै बन्द हुने जानकारी दिए। तत्काल प्रतिवेदन सार्वजनिक गरेर दोषीलाई कारबाही नगरेमा आफूहरु थप सशक्त आन्दोलनमा जाने उनले चेतावनी दिए।

नेविसंघले माउपार्टी कांग्रेससंग समन्वय गरेर दबाबमुलक कार्यक्रम गरिरहेको कांग्रेस कञ्चनपुर सभापति हरिप्रसाद बोहराले बताए। घटनाप्रति सरकारले देखाएको लाचारी र ढिलासुस्तीको विरुद्धमा कांग्रेसले आन्दोलन चर्काउदै लगेको उनको भनाइ थियो। आफ्नो पार्टी सधैँ न्यायको पक्ष रहेको बताउँदै उनले न्यायको लागि जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने दाबी गरे। उनले भने, ‘अहिले हामीसंग समन्वय गरेर नेविसंघले कार्यक्रम गर्दैछ, हाम्रो न्यायको पक्षको आन्दोलन जारी छ।’ पटक पटक सरकारलाई घटनाको बारेमा सत्य, तथ्य सार्वजनिक गर्न आग्रह गरेको भए पनि सरकार भने केही सार्वजनिक नगरी हत्याराको संरक्षणमा उद्धत रहेको उनको आरोप छ। यस्तै भोलिदेखि नै महिला संघ पनि आन्दोलनमा जाने नेपाल महिला संघ कञ्चनपुरकी अध्यक्ष मधु भारतीले बताइन्। निर्मलाको न्यायको लागि कसरी जाने भनेर छलफल भइरहेको उनको भनाइ छ। ‘हामी छलफल गरीरहेको छौँ, कस्तो किसिमको आन्दोलनमा जाने भनि सार्वजनिक गरिने छ’ उनले भनिन्।

गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गत भदौ ७ गते गठन गरेको उच्चस्तरीय छानविन समितिले घटनाबारे एक महिना अध्ययन गरी प्रतिवेदन तयार गरेको थियो। उक्त प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझाइए पनि सार्वजनिक भएको छैन। गत साउन १० गते पढ्न भनेर साथीको घरमा गएकी भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त बलात्कार गरी हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा फेला परेकी थिइन्। बलात्कार र हत्यामा संलग्न रहेको आशंका गरिएका तत्कालीन एसपी डिल्लीराज विष्टसहित उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिज आयुश विष्टको डीएनए रिपोर्ट पनि निर्मलाको ‘भेजिनल स्वाब’ सँग मेल नखाएपछि घटना अझै रहस्यमयी बनेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.