असोज ३१, काठमाडौँ । निर्वाचन आयोगले वि.सं. २०८१ साल साउन १ गतेदेखि २०८२ साल असार मसान्तसम्म सम्पादन गरेका मुख्य काम कारबाही र उपलब्धि समावेश गरिएको उन्नाइसौँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीज्यूले उक्त प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा राष्ट्रपतिले आर्थिक वर्ष २०८१÷८२ मा आयोगले सम्पादन गरेका कामका लागि धन्यवाद व्यक्त गर्दै, संवत् २०८२ फागुन २१ मा सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन समेत सफलतापूर्वक सम्पन्न गर्ने विश्वास व्यक्त गरेका छन् ।
आयोगको उन्नाइसौँ वार्षिक प्रतिवेदन पेश गर्दै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीज्यूले आर्थिक वर्ष २०८१÷८२ मा आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक, स्थानीय तहका रिक्त ४४ पदमा उपनिर्वाचन, मतदाता शिक्षा र तालिम संचालन, राजनीतिक दल दर्ता र अद्यावधिक गरेको एवम् आयोगको कानूनी, संस्थागत तथा प्रणालीगत सुधारका लागि चौथो पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत गरी कार्यान्वयन गरिएको बताउँदै प्रतिनिधि सभा सदस्य निर्वाचन,२०८२ सम्पन्न गर्ने लगायत आयोगले सम्पादन गर्ने कार्यमा राजनीतिक दल र सबै सरोकारवालाको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन सम्शेर ज.ब.रा. तथा आयोगका सचिव माहादेव पन्थ र राष्ट्रपतिका विज्ञ सल्लाहकारहरू एवम् राष्ट्रपति कार्यालयका सचिव डा. दिपक काफ्लेको उपस्थिति रहेको थियो।

