असोज ७, काठमाडौँ । ताप्लेजुङको घुन्सास्थित हेलिकप्टर दुर्घटना भएको १९ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट व्यक्तित्वहरूको ज्यान गएको थियो ।
राजधानीमा आयोजित एक कार्यक्रममा जल सम्पदा तथा वातावरण संरक्षण कोष नेपालले दुर्घटनामा परी ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौन धारण, फोटोमा माल्यार्पण र दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
संरक्षणविद्, भूगोलविद्, योजनाविद्, सरकारी अधिकारी, र वन्यजन्तु विशेषज्ञहरू यस दुर्घटनामा परेका थिए । उनीहरूको योगदानको स्मरण गर्दै, असोज ७ लाई सरकारले राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । घुन्सा हेलिकप्टर दुर्घटना वातावरणीय संरक्षणको मुद्दामा एक महत्वपूर्ण मोड बनेको छ । ७ असोज २०६३ मा विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजना गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने समारोहमा सहभागी हुन विशिष्ट व्यक्तित्वहरूको टोली घुन्सा पुगेका थिए । यो परियोजना हिमालय क्षेत्रको जैविक विविधताको संरक्षणमा एक महत्वपूर्ण कदम थियो । कञ्चनजङ्घा देशकै एक प्रमुख संरक्षण क्षेत्र हो । जहाँ दुर्लभ वनस्पति, जनावर, र जैविक सम्पदाको संरक्षण हुँदै आएको छ ।
जलसंपदा तथा वातावरण संरक्षण कोष नेपालले काठमाडौँको रामकोटस्थित दुर्घटनामा मृत्यु भएका २४ जनाको अर्धकदको शालिक स्थापना गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागले पर्याप्त रकम विनियोजन नगरेका कारण केही वर्षदेखि ‘संरक्षण स्मृति पार्क’को निर्माण कार्यले अपेक्षित प्रगति गर्न नसकेको कोषका अध्यक्ष पाण्डेले कार्यक्रममा जानकारी दिए ।
परियोजना हस्तान्तरण कार्यक्रमपछि सहभागीहरू काठमाडौं फर्किन हेलिकप्टर चढेका थिए । तर दुर्भाग्यवशः फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, भूगोलविद् डा। हर्क गुरुङ, संरक्षणविद् डा। चन्द्र गुरुङ, वन्यजन्तु संरक्षण विज्ञ डा। तीर्थमान मास्के, वनमन्त्रालयका सचिव डा। दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, र अन्य विशिष्ट व्यक्तित्वहरूले ज्यान गुमाएका थिए ।

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिहरू नेपालको संरक्षण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरू थिए । तीमध्ये प्रमुख व्यक्तित्वहरूमा डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङ, र गोपाल राई थिए । डा. हर्क गुरुङ भूगोलविद् मात्र नभएर नेपालको दिगो विकास, सामाजिक न्याय, र संरक्षण क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्व थिए । उनले नेपालको भौगोलिक र सामाजिक संरचनाको गहिरो अध्ययन गरेका थिए । उनले हिमालय क्षेत्रको जैविक विविधताको संरक्षणमा धेरै काम गरेका थिए । डा. चन्द्र गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाको नेतृत्व गर्दै संरक्षणको नयाँ मोडेल प्रस्तुत गरेका थिए । यो परियोजनाले स्थानीय समुदायसँग मिलेर काम गर्ने र उनीहरूलाई संरक्षणको जिम्मेवारी दिने अवधारणालाई अघि ल्यायो, जसले संरक्षण र दिगो विकासलाई सँगसँगै अगाडि बढाउने प्रयास गरेको थियो ।
गोपाल राई, जो तत्कालीन् वन राज्यमन्त्री थिए । उनले नेपालको वन संरक्षण, जैविक विविधताको समृद्धि, र वातावरणीय व्यवस्थापनमा सरकारको भूमिका सुदृढ बनाउन महत्वपूर्ण काम गरेका थिए । उनी वन्यजन्तु संरक्षण र राष्ट्रिय निकुञ्जहरूको व्यवस्थापनमा नीति निर्माणमा संलग्न थिए ।
दिप प्रज्वलन कार्यक्रममा कोषका अध्यक्ष पुष्पराज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा का.जि.अ. वार एशोसियसनका निवर्तमान अध्यक्ष आर.सी. विमल, अधिवक्ता अर्जुन चालिसे, अधिवक्ता राजकुमार उप्रेती, समाजसेवी सनत कुमार गीरी, युरेसन योङ्गे सुब्बा, शिव खत्री, तुलसीराम पराजुली विशेष अतिथिको रूपमा उपस्थित थिए ।

