नुन तेल किन्न राप्ती नदी नै तर्नुपर्ने बाध्यता

असोज १५, बाँके । “नुन तेल किन्न राप्ती नदी नै तर्नुपर्छ । मोटरबाटो कच्ची छ, राप्ती नदीमा पक्की पुल छैन, यातायातका साधन चल्दैनन् । वर्षात्मा निकै कठिनाइ हुन्छ”, राप्तीसोनारी गाउँपालिका–१ खोकरीका भरत बुढाथोकी भन्नुहुन्छ, “पक्की पुल नहुँदा हामीलाई निकै समस्या छ ।” उक्त स्थानका सात गाउँ बसेरी, दुवेरी, सुनाहा, भम्का, अमुवा, भवानीपुर र सुनखरे वर्षात्मा जिल्ला सदरमुकाम मात्र नभइ स्थानीय बजारसँग पनि सम्पर्कबिहीनजस्तै हुन्छन् । राप्ती नदीमा बनाइएका दुई झोलुङ्गे पुल पनि अपायक हुँदा ती गाउँका बासिन्दालाई घण्टौँ पैदल हिँडेर कुसुम बजार पुग्नुपर्ने बाध्यता छ ।

“हाम्रो स्थानीय बजार कुसुम हो । झोलुङ्गे पुल अपायक भएकै कारण कुसुम पुग्न घण्टौँ हिँड्नुपर्छ”, बुढाथोकीले भन्नुभयो, “राप्ती नदीमा पक्की पुल भएको भए यातायातका साधन आउँथे, स्थानीयवासीलाई सहज हुन्थ्यो ।” ती सात गाउँ जोड्ने मोटरबाटो पनि बनाइएको छ तर राप्ती नदीमा पुल नहुँदा मोटरबाटो भए पनि त्यसको औचित्य भने देखिँदैन ।

हिँउदमा जोखिम मोलेरै भएपनि राप्ती नदी तरेर ट्याक्टर जसोतसो ती गाउँसम्म पुग्ने गर्छ । ‘‘हिउँदमा कहिलेकाहीँ ट्र्याक्टर आउँदा कुसुम बजारसम्म पुग्न सहज हुन्छ,’’ स्थानीयवासी यमबहादुर खड्काले भन्नुभयो, “दुई÷चार महिना ट्र्याक्टर चढेरै कुसुमसम्म पुग्छौं । वर्षात् शुरु भएपछि फेरि उस्तै समस्या हो । घण्टौँ हिँडेर झोलुङ्गे पुलको सहायतामा आवतजावत गर्छौँ ।”

उक्त नदीमा पानीको सतह बढ्न थालेपछि ट्र्याक्टर पनि वारपार गर्न सक्दैनन् । ‘वर्षात्मा नुनतेलको अभाव नहोस् भनेर ट्र्याक्टर वारपार गर्ने बेलैमा दुई÷चार महिना पुग्ने गरी आवश्यक सामग्री खरिद गरेर राख्छौँ”, स्थानीयवासी लेखराज वलीले भन्नुभयो, “पक्की पुल भए बाह्रै महिना सुविधा पुग्ने थियो ।” पुल नहुँदा बिरामीलाई समयमा अस्पतालमा पु¥याउनसमेत समस्या हुने गरेको वलीको भनाइ थियो । स्थानीयवासी भेषबहादुर खड्काले भन्नुभयो, ‘‘सामान्य कामका लागि धेरै समय हिँड्नुपर्ने भएकाले हामी अत्यावश्यक काम नभएसम्म झोलुङ्गे पुलबाट वारपार गर्दैनौँ ।”

खोलामा पुल नभएकै कारण ती गाउँमा उत्पादित तरकारी तथा अन्य नगदेबाली विक्री गर्न पनि समस्या भएको स्थानीयवासी बताउँछन् । ‘वर्षात्मा बाढी आउँछ, बोकेर पारी लैजान सकिँदैन । उत्पादन भएको तरकारी सके आफँैले खाने नसके गाईभैँसीलाई खुवाउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । राप्तीमा पक्की पुल बनाउन यस क्षेत्रका सांसद महेश्वरजङ्ग गहतराज अथकसँग पहलका लागि आग्रह गरिएकामा उहाँले पुल निर्माणका लागि पहल भइरहेको बताउनुभयो । “राप्तीपारीको बिनौनालाई जोड्न राप्ती नदीको धामपुर–मधुवाको डिपिआर सम्पन्न भएर टेण्डर आह्वान भइसकेको छ । यसै वर्षभित्र निर्माण कार्य शुरु हुन्छ”, सांसद अथकले भन्नुभयो । कुसुम पारीका गाउँलाई जोड्नका लागि पनि पक्की पुल निर्माण गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

“विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि केन्द्रमा पहल भइरहेको छ, यसै वर्ष डिपिआर तयार गर्नका लागि केही रकम विनियोजन गर्न पहल गरिरहेको छु”, सांसद अथकले भन्नुभयो, “यस वर्ष डिपिआरको काम सक्ने गरी प्रयत्न भइरहेको छ । त्यो सकिए अर्को आर्थिक वर्षमा पुल निर्माणका लागि बजेट विनियोजन हुन्छ ।”–रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.