स्वयंसेवी युवाबारे प्रतिवेदन तयार गरिँदै

असोज १५, काठमाडौँ । विभिन्न सरकारी निकाय तथा गैर सरकारी संस्थामार्फत स्वयंसेवाको क्षेत्रमा परिचालित युवाको अभिलेखसहितको प्रतिवेदन तयार गर्न लागिएको छ ।

नेपालभित्र कुन क्षेत्रमा कति युवा स्वयंसेवक कसरी परिचालित छन् भन्ने विवरण र तथ्यलाई एकीकृत गर्ने गरी अभिलेखसहितको प्रतिवेदन तयार गरी अन्तिम रूप दिन लागिएको हो । युवा तथा खेलकूद मन्त्रालयले यस क्षेत्रमा भएका सम्पूर्ण विवरण सङ्कलन गरी प्रतिवेदन तयार पार्न लागेको हो ।
युवा तथा खेलकूद मन्त्रालयका सूचना अधिकारी महेन्द्र पौडेलले युवा परिचालनबारे संयुक्त राष्ट्र संघ अन्तर्गतको संयुक्त राष्ट्र संघीय स्वयंसेवा कार्यक्रमले विश्वव्यापीरुपमा स्वंयसेवासम्बन्धी प्रतिवेदन प्रकाशन गर्ने भएको हुँदा नेपालको तथ्यलाई पनि त्यसमा समावेश गराउने प्रयास गर्न लागिएको बताउनुभयो ।  प्रतिवेदनको पहिलो मस्यौदा तयार भइसकेको र अन्तिमरुप दिन भने बाँकी रहेको उहाँले बताउनुभयो ।

अहिलेसम्म कुन क्षेत्रमा र कति युवा जनशक्ति स्वयंसेवकका रुपमा परिचालित छन् भन्ने कुनै तथ्याङ्क सङ्कलन गरिएको थिएन । सरकारी निकाय र गैर सरकारी निकायबाट आ–आफ्नै तरिकाले स्वयंसेवक खटाउने गरिएको छ । मन्त्रालयले तयार पार्ने प्रतिवेदनमा पछिल्लो दुई वर्षको तथ्याङ्क र ऐतिहासिक तथ्यलाई पनि केही हदसम्म समावेश गरेर अन्तिम रुप दिइने सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । एउटै प्रकृतिका कार्यक्रममा धेरै निकायबाट स्वयंसेवकको रूपमा युवा परिचालन भइरहेको र विभिन्न मन्त्रालयबाट पनि कहाँ÷कहाँ कसरी युवा परिचालित छन् भन्ने यकिन तथ्याङ्कसमेत नभएको हुँदा यसलाई व्यवस्थित गर्न प्रतिवेदनको आवश्यकता अनुभव गरी प्रक्रिया अगाडि बढाइएको हो ।

प्रतिवेदनमा स्वयंसेवक परिचालनसम्बन्धी कानून, नीति, निर्देशिका, कार्यविधिको उद्देश्य र निर्माणको पक्ष, स्वयंसेवा परिचालनका विधि, संस्थागत व्यवस्था र योजना, दीगो विकासको लक्ष्य प्राप्तिमा स्वयंसेवकको संलग्नता र प्रभावलाई पनि विश्लेषण गरिनेछ । तथ्याङ्क उपलब्ध गराउँदा स्वयंसेवक परिचालनका वित्तीय स्रोत र परिचालनको प्रभाव तथा योगदानलाई पनि संस्थाहरूले खुलाउनपर्नेछ । नेपालमा स्वयंसेवक पठाउने देशहरू तथा सूचीकृत स्वयंसेवक संस्था र सञ्जाल सङ्ख्या र नेपालबाट स्वयंसेवक पठाइने देशहरूको तथ्य पनि प्रविवेदनमा समावेश गरिनेछ । राष्ट्रिय योजना आयोगले राष्ट्रिय विकास स्वयंसेवक सेवक सेवा कार्यक्रम अन्तर्गत विगत २० वर्षमा झण्डै १५ हजार युवाले स्वयंसेवकको रुपमा सेवा गरी सकेका छन् । उक्त कार्यक्रम यो वर्षदेखि युवा तथा खेलकूद मन्त्रालयमा सारिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.