दीगो पर्यटनको अभ्यास सुरु गर्ने योजनासहित अध्यक्ष पदमा गुरूङको उम्मेद्वारी

नेपाल माउन्टेनेरिङ एसोसियसनको आसन्न निर्वाचन र समसामयिक विषयमा अध्यक्षका प्रात्यासी वरिष्ठ पर्यटन व्यवसायी कुल बहादुर गुरूङसंग प्रारम्भ खबरले गरेको कुराकानीमा आधारितः

तपाइँको उम्मेदवारी किन ?
मैले लामो समय पर्यटन र पर्वतारोहण क्षेत्रमै काम गरेर अनुभव सङ्कलन गरेको छु। अब संस्थागत सुधार, पारदर्शिता र सदस्यमैत्री कार्यक्रम ल्याउन नेतृत्व लिन आवश्यक भएकोले उम्मेदवारी दिएको हुँ।

पर्यटनको संघ संस्थामा अलि धेरै राजनैतीक हस्तक्षेप जस्तो लागेन ?
राजनीतिक प्रभावलाई नियन्त्रण गर्दै पेशागत र संस्थागत हितलाई प्राथमिकता दिनुपर्छ। म व्यवसायिकता र पारदर्शितामा जोड दिने पक्षमा छु।

एन एम ए मा के कस्ता चुनौतीहरू छन् जस्तो लाग्छ ?
पर्वतारोहण सुरक्षालाई मजबुत बनाउने, अन्तर्राष्ट्रिय छवि बलियो बनाउने, सदस्यहरूको प्रत्यक्ष लाभ सुनिश्चित गर्ने, युवापुस्तालाई नेतृत्वमा ल्याउने जस्ता चुनौतीहरू छन्।

हाल नेपालमा पर्वतारोहण क्षेत्र कस्तो अवस्थामा छ भन्ने मूल्याङ्कन गर्नुहुन्छ ?
नेपाल विश्वकै उत्कृष्ट पर्वतारोहण गन्तव्य हो। तर अझै व्यवस्थापन, दिगोपन र सुरक्षा मापदण्डका क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता छ। पर्यावरण संरक्षण र पर्वतीय क्षेत्रमा स्थानीय समुदायको सहभागिता बढाउन जरुरी छ।

सदस्यहरूको असन्तुष्टि कतिपय समयमा सुन्निन्छ, यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
सदस्यहरूको आवाज सुन्ने र प्रत्यक्ष लाभ दिने कार्यक्रम ल्याउनु नै समाधान हो। एन एम ए सदस्यमैत्री संस्था बन्नुपर्छ। त्यसका लागि बीमा, प्रशिक्षण, अवसर र पारदर्शी निर्णय प्रक्रियामा सदस्यको सहभागिता बढाइन्छ।

अन्तर्राष्ट्रियस्तरमा एन एम ए को भूमिकालाई कसरी विस्तार गर्न सकिन्छ ?
अन्तर्राष्ट्रिय पर्वतारोहण संघहरूसँग सहकार्य गर्ने, नेपालका हिमालहरूको प्रचार–प्रसार गर्ने र विश्वस्तरमा सम्मेलन, प्रदर्शनी, प्रमोशनमा सक्रिय सहभागिता बढाउने हाम्रो प्राथमिकता हुनेछ। यसले नेपाललाई पर्वतारोहण नक्सामा अझै उजागर गर्छ।

पर्वतारोहणमा सुरक्षासम्बन्धी धेरै प्रश्न उठ्छन्, यसबारे तपाईँको योजना के छ ?
सुरक्षा पहिलो प्राथमिकता हो। उच्च गुणस्तरीय तालिम, आवश्यक उपकरण, मौसम पूर्वानुमान प्रणाली सुधार, र कडाइका साथ सुरक्षा मापदण्ड लागू गर्नुपर्नेछ। यसमा एन एम ए नेतृत्वदायी भूमिका खेल्छ।

वातावरणीय चूनौतीलाई कसरी समाधान गर्न सकिन्छ ?
पर्वतीय क्षेत्रमा नीति कडाइका साथ लागू गर्ने, फोहोर व्यवस्थापनलाई अनिवार्य बनाउने, स्थानीय समुदायसँग सहकार्य गरेर दिगो पर्यटनको अभ्यास सुरु गर्ने हाम्रो योजना हुनेछ।

युवापुस्ताको भूमिका तपाईं कसरी देख्नुहुन्छ ?
भविष्य युवापुस्ताकै हातमा छ। उनीहरूलाई नेतृत्वमा ल्याएर नयाँ विचार, प्रविधि र व्यवस्थापन शैली भित्र्याउनु पर्छ। म युवालाई अवसर दिन प्रतिबद्ध छु।

यदि तपाईं अध्यक्षमा विजयी हुनुभयो भने पहिलो १०० दिनको प्राथमिकता के हुनेछ ?
सदस्यमैत्री कार्यक्रम घोषणा गर्ने
पारदर्शी प्रशासनिक सुधार सुरु गर्ने
पर्वतारोहण सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्ने
अन्तर्राष्ट्रिय प्रवर्द्धन अभियान सुरु गर्ने
युवालाई समावेश गरेर कार्यदल बनाउने

 

को हुन् कुल बहादुर गुरुङ ?

नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा स्थापित नाम हो, कुल बहादुर गुरुङ । उहाँ वि.सं. २०३२ साल पौष १३ गते उत्तरी धादिङको (रुबीभ्याली गाउँपालिका) तत्कालीन सेर्तुङ गाविस वडा नम्बर ४ स्थित चालिस गाउँमा जन्मिनुभएको हो । उमेरले पाँच दशक पार गर्दैगर्दा उहाँले साढे तीन दशकभन्दा लामो समय पर्यटन क्षेत्रमा विताइसक्नुभएको छ । गुरुङ सन् १९९२ देखि पर्वतीय पर्यटनको क्षेत्रमा संलग्न रहँदै आउनुभएको छ ।

एलान्स् ट्रेक्स एण्ड एक्सपिडिसन प्राइभेट लिमिटेको प्रबन्ध निर्देशक गुरुङ अन्य पर्यटन व्यवसायहरुमा संलग्न रहनुभएको छ । उहाँले नेपाल पर्वतारोहण संघको महासचिव ९२०१७—२०२२० भएर काम गरिसक्नुभएको छ । पर्वतीय पर्यटनको क्षेत्रमा ‘सबैको प्रिय व्यक्तित्व’ को परिचय बनाउनुभएका गुरुङले पर्वतीय पर्यटन व्यवसायमा मात्र नभएर पर्वतीय पर्यटनको विकास, विस्तार, पर्वतीय पर्यटन व्यवसायीहरुको हक, हित र अधिकारको लागि काम गर्ने पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन (टान)  को विभिन्न पदमा बसेर काम गरिसक्नु भएको छ । उहाँले २००९ देखि २०११ सम्म टानको केन्द्रीय कार्यसमिति सदस्य, २०१३ देखि २०१५ सम्म टानको द्धितीय उपाध्यक्ष र भएर काम गर्नुभएको छ ।

उहाँले पर्वतीय पर्यटनको राष्ट्रियस्तरका मात्र नभई अन्तर्राष्ट्रिय स्तरको संस्थामा रहेर पनि काम गर्नुभएको छ र गरिरहनुभएको छ । गुरुङले इन्टरनेशनल क्लाम्बिङ एण्ड माउन्टेनियरिङ फेडेरेशन (विश्व पर्वतारोहण महासङ्घ) को सचिवालय सदस्यमा २०२० मा निर्वाचित भएर २०२४ सम्म काम गरिसक्नु भएको छ । सोही समयमा विश्व पर्वतारोहण सङ्घको माउन्टेनियरिङ कमिशन विभागको फुल मेम्बरको रुपमा पनि काम गर्नुभएको थियो । २०२४ मा पुनः निर्वाचित भएर २०२८ सम्मको लागि विश्व पर्वतारोहण सङ्घको माउन्टेन कमिशनको मेम्बरको रुपमा काम गरिरहनुभएको छ ।

गुरुङ नेपालको पर्वतीय पर्यटनको इतिहासमा विश्व पर्वतारोहण सङ्घको सचिवालय सदस्य पदमा पुग्ने दोस्रो व्यक्ति हुनुहुन्छ । यसका अलावा अन्य थुप्रै पर्यटन सम्बद्ध सङ्घसंस्थाहरूमा पनि उहाँ सलग्न हुनुहुन्छ । त्यसैगरी उहाँले सन् २००४ देखि क्लाइमेट एलाइन्स अफ हिमालायन कम्युनिटिज् (सिएएचसि) को संस्थापक सचिव भएर काम गर्नुभएको छ । जुन पूर्व मेचिदेखि पश्चिमसम्म हिमाली क्षेत्रको वातावरणीय समस्या तथा प्रभावहरुबारे वकालत गर्ने संस्था हो ।

त्यसैगरी गुरुङ पर्यटन व्यवसायी सङ्घ नेपाल (जिटिन) को संस्थापक अध्यक्ष, उत्तरी धादिङको पर्यटनको क्षेत्रका काम गर्दै आएको संस्था गणेश हिमाल टुरिजम डेभलपमेन्ट कमिटी (जिएचटडिसि) को पनि संस्थापक अध्यक्ष हुनुहुन्छ । पर्वतीय पर्यटनको क्षेत्रमा कुल बहादुर गुरुङको परिचय एक व्यवसायीको रुपमा सिमित छैन । उहाँ एक बौद्धिक एवम् प्राज्ञिक व्यक्तित्वको रुपमा पनि परिचित हुनुहुन्छ । उहाँले व्यवस्थापन सङ्कायमा स्नातकोत्तर, पर्यटन विषयमा पनि स्नातकोत्तर र कानुनमा पनि स्नातक गर्नुभएको छ । हाल नेपालको पर्वतीय पर्यटनको विषयमा मलेशियाको लिङ्कन विश्वविद्यालयबाट विध्यावारिधि गर्दै हुनुहुन्छ ।

बौद्धिक व्यक्तित्व गुरुङ शिक्षण, प्रशिक्षण तथा तालिम प्रदान गर्ने कार्यमा पनि सक्रिय हुनुहुन्छ । उहाँ क्युवानियन र रोटरियन पनि हुनुहुन्छ । क्युवानेश इन्टरनेशनल नेपालको नेपालभरिकै एक मात्र मास्टर ट्रेनर गुरुङले पब्लिक स्पिकिङ, मोटिभेशनल स्पिकर, इन्स्पिरेशनल स्पिकर तथा लाइफ कोचको रुपमा पनि काम गर्दै आउनु भएको छ । विगत १४ वर्षदेखि पोर्टर गाइड, ट्रेकिङ गाइड र टुरिस्ट गाइडलाई नाथमबाट ट्रेनिङ गराउँदै आउनुभएको छ । उहाँले हालसम्म १५ हजारभन्दा बढीलाई तालिम दिइसक्नुभएको छ । कर्पोरेट हाउस र विभिन्न कलेजहरुमा पनि माउन्टेन टुरिजम, यसको महत्व, चुनौतिहरु र अवसरहरुको बारेमा ओकेजनली ‘गेस्ट लेक्चररलको रुपमा पनि बोल्दै आउनुभएको छ ।

नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्ने महत्वपूर्ण संस्था नेपाल पर्वतारोहण सङ्घको अध्यक्ष पदमा आफ्नो दाबी पेश गर्दै गर्दा गुरुङले पर्वतीय पर्यटन क्षेत्रको विकासको लागि सुत्रबद्ध रुपमा आफ्ना एजेन्डाहरुलाई अगाडी सार्नुभएको छ । उहाँले क्रिएशन, क्युरेशन र कम्युनिकेशनलाई नेतृत्वको मुल मन्त्र बनाउनुभएको छ । त्यस्तै पर्वतीय पर्यटनको लागि ८ वटा अङ्ग्रेजी अक्षर एम लाई मुल मन्त्र बनाउनुभएको छ । आठ वटा एममार्फत माउन्टेन, माउन्टेन इन्भाइरुमेन्ट, माउन्टेन पिपुल, माउन्टेन कल्चर, माउन्टेन हेरिटेज, माउन्टेनियरिङ अपरेटर्स, माउन्टेनर्स, माउन्टेन वर्कर्सलाई समेट्नुभएको छ ।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए) लाई विश्वकै उत्कृष्ट माउन्टेन रिसर्च सेन्टरको रुपमा विकास गर्ने गुरुङको लक्ष्य छ । त्यस्तै माउन्टेन टुरिजममा देखिएका समस्याहरुलाई सिंहदरबारसम्म पुर्याउन ‘बेसक्याम्प टु सिंहदरबार’ को अवधारणालाई अगाडि सार्नुभएको छ । माउन्टेन टुरिजमको नीति निर्माणको लागि तत्काल वकालत गर्ने उहाँको योजना छ ।

गणेश हिमालको फेदमा विकट गाउँमा जन्मनुभएका गुरुङले भरियाको रुपमा पर्यटन क्षेत्रमा पाइला राख्नुभएको थियो । गुरुङल भरिया, भरियाहरुको नाइके, किचन ब्वाई, गाइड हुँदै सेल्स म्यानेजर, जेनेरल म्यानेजरको रुपमा डेढ दशकभन्दा बढी काम गरेपछि आफ्नो व्यवसाय सुरु गर्नुभएको हो । उहाँले नेपालका चर्चित ३० वटा भन्दा बढी ट्रेकिङ रुटहरुमा टे«किङ गर्नुभएको छ । गुरुङले ५० वटा भन्दा बढी देशहरुको भ्रमण गरिसक्नुभएको छ । पर्वतीय पर्यटनको विषयमा २५ वटा भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका गोष्ठीहरुमा सहभागिता जनाइसक्नुभएको छ ।

पर्वतीय पर्यटनका एक हस्ती, सफल व्यवसायी, बौद्धिक एवम् प्राज्ञिक व्यक्तित्व, पर्वतीय पर्यटनकै अनुशन्धाता एवम् आफ्नो नेतृत्व क्षमता प्रदर्शन गरिसक्नुभएका कुल बहादुर गुरुङले एनएमएको नेतृत्वमा पुगेर नेपालको पर्वतीय पर्यटनको उचाई बढाउने लक्ष्य लिनुभएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.