अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर

साउन ३०, काठमाडौं। अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग भृकुटीमण्डपमा कार्यरत सचिन्द्रकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले यादव सरकारी सेवामा नियुक्त भएको २०६६ जेठ २४ देखि २०७९ साउन २९ गतेसम्मको परीक्षण गरेको थियो। यादवले सो अवधिमा कुल दुई करोड ६८ लाख १९ हजार रुपैयाँ बराबरको वैध आयआर्जन गरेको देखिन्छ। सो अवधिमा यादवले तीन करोड ६५ लाख चार हजार ४५३ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ। आयोगले परीक्षण गर्दा ९६ लाख ८५ हजार ५५३ बराबरको रकमको स्रोत खुल्न नसकेको पाइएको छ।

पदीय हैसियत दुरुपयोग गरेर गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको आयोगको आरोप छ। आयोगका अनुसार गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी आशाकुमारी यादवको नाममा राखेको समेत पाइएको छ।

आयोगले आरोपी यादव र उनका पत्नी आशाकुमारीलाई प्रतिवादी कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.