साउन १६, काठमाडौं । वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई नेपालमा नै स्थापित गर्ने व्यवस्था बोर्डले गर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले वैदेशिक रोजगारबाट नेपाल फर्किएका नेपालीहरुलाई स्वदेशमा नै स्थापित गराउने भन्दै उनीहरुले ल्याएको सीपलाई प्रमाणिकरण गर्ने काम पनि वैदेशिक रोजगार बोर्डले गर्ने गरेको बताए ।
उनले भने, ‘विदेशबाट आफ्नो समय सकाएर नेपाल फर्किएका नेपालीहरुलाई स्वदेशमा नै स्थापित गराउने, आफ्नै पालिकामा स्थापित गराउने र वैदेशिक रोजगारमा एकपटक गइसकेको व्यक्ति पुनः जान नपर्ने अवस्था निर्माण गर्ने गरि उद्यमशिलता तालिमको व्यवस्थापन गर्ने, तालिम दिने र उनीहरुले ल्याएको सीपलाई प्रमाणिकरण गर्ने काम पनि वैदेशिक रोजगार बोर्डले गर्ने गरेको छ ।’ यस्तै, उनले वैदेशिक रोजगारमा घाइते हुने, अपाङ्ग हुने, मृत्यु हुने अथवा अलपत्र पर्ने, जेल पर्ने जस्ता अवस्थामा उद्धार गर्ने काम वैदेशिक रोजगार बोर्डले नै गर्ने भन्दै राहत, उद्धार र कल्याणकारी कामलाई बोर्डले प्राथमिकतामा राखेर बताए ।


