मौसम : आज राति यी प्रदेशमा भारी वर्षाको सम्भावना

असार १३, काठमाडौं । हाल कोसी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज (शुक्रवार) राति कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।

यस्तै एक/दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।

यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ । त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ ।

त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ । यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.