असार १२, काठमाडौं । काठमाडौं जिल्ला अदालतले टिकटकर रमा बस्नेतलाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले सो आदेश जारी गरेको हो ।
नेपाल प्रहरीको साइबर ब्युरोले बस्नेतलाई असार १ गते पक्राउ गरेको थियो । उनलाई टिकटकमा नेताहरूमाथि गालीगलौज गरेको र सामाजिक सञ्जालमा जातीय तथा साम्प्रदायिक सद्भावमा खलल पुर्याउने, प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्षित गरी तथ्यहीन र भ्रामक सामग्री प्रकाशन गरेको आरोप लागेको थियो ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुरमा बसोबास गर्ने ३१ वर्षीया बस्नेतमाथि प्रहरीले अदालतको म्याद थप अनुमति लिएर अनुसन्धान गरेको थियो ।
बस्नेतले हालै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (एमाले) लाई लक्षित गरी टिकटकमा सामग्री पोस्ट गरेकी थिइन् । उनले कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको विषयमा पनि विरोध जनाएकी थिइन् ।
यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई असहयोग गरेको भन्दै उपमेयर सुनिता डंगोलको आलोचना गरेका सामग्री पनि उनको टिकटकमा छन् । साथै, उनले एमाले र अन्य दलका नेताहरूको पनि आलोचना गरेका थुप्रै भिडियो बनाएकी थिइन् ।

