बीपी राजमार्गमा रातको समयमा यात्रुवाहक सवारी सञ्चालनमा रोक

असार ६, रामेछाप। बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा १५ दिनका लागि रोक लगाइएको छ।

शुक्रबार सिन्धुलीको मूल्कोटमा काभ्रे, सिन्धुली र रामेछापका अन्तर जिल्ला सुरक्षा समन्वय समितिको संयुक्त बैठकले १५ दिनको लागि बेलुका ६ः३० बजेदेखि बिहान ५ बजेसम्म मालवाहक सवारी साधनबाहेक अन्य सबै सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

वर्षाको मौसमले राजमार्गका विभिन्न खण्डमा काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मको खण्डमा क्षति पुर्‍याएकोले यात्रु तथा चालकको सुरक्षाका लागि यस्तो निर्णय गरिएको बताइएको छ।

राजमार्गका धेरै ठाउँमा पहिरोको जोखिम र चिप्लो सडक भएका कारण सवारी सञ्चालनलाई अस्थायी रूपमा रोक्ने निर्णय भएको हो।

निर्णय अनुसार काठमाडौंबाट बाहिरिने सवारी साधनलाई काभ्रे भञ्ज्याङमै रोकिने भएको छ भने काठमाडौंतर्फ जाने सवारी साधनलाई सिन्धुलीको खुर्कोटमा रोकिने भएको छ। सो निर्णय आजैबाट लागू हुनेछ।

बीपी राजमार्ग राजधानी काठमाडौंलाई तराईसँग जोड्ने महत्त्वपूर्ण राजमार्ग हो। दैनिक हजारौँ यात्रु र मालवाहक गाडी यही बाटो भएर आवतजावत गर्ने गर्दछन्।

गएको वर्ष असोज महिनामा आएको बाढीले रोशी खोला क्षेत्रमा सडकमा ठुलो क्षति भएको छ। अप्ठेरो सडक हुँदा चौकीडाँडामा दैनिक जसो सवारी दुर्घटना हुने गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.