चैत ९, काठमाडौँ । नेपाल भाषाको संरक्षण र प्रवर्द्धनमा सरकारहरुलाई झक्झ्याउँदै नेवार समुदायहरु सक्रिय हुनुपर्नेमा नेपाल भाषा प्रवर्द्धन कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
बागमती प्रदेश सरकारले तामाङसँगै नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गरिरहेकोले नेवार समुदाय जागरुक हुन आग्रह गरिएको हो । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तरगतको पर्यटन कार्यालय काठमाडौं र नेपाल भाषा एकेडेमीको संयुक्त आयोजनामा हेटौंडामा शनिबार कार्यक्रम भएको थियो। कार्यक्रममा नेपाल भाषा एकेडेमीले नेपाल भाषालाई बागमती प्रदेश सरकारले कामकाजको भाषा घोषणा गरेको सन्दर्भमा भाषिक जागरण अभिमुखीकरणका लागि आधारपत्र प्रस्तुत गरेको थियो ।
कार्यक्रम हेटौंडा उपमहानगरपालिका २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्य तथा भाषा अभियान्ता पौभा सायमीको अध्यक्षतामा भएको थियो । प्रमुख अतिथी महर्जनले भाषा मासिएपछि जातमात्रको खासै अस्थित्व नहुँने भन्दै भाषा संरक्षण र प्रवद्र्धनमा नेवार समुदाय सचेत हुनुपर्ने तर्क गरे । ‘भाषा, संस्कृति भनेको जात, समुदायसँगै देशको साझा सम्पती हो, उनले थपे, ‘तर राज्य र सरकारलाई खबरदारी गर्दै नेपाल भाषाको विकास र विस्तारमा नेवार समुदाय पनि उत्तिकै सक्रिय हुनुपर्दछ ।’ नेपाल देशको अस्थित्व विश्वसामु राख्न संयुक्त राष्ट्रसंघमा नेपालले नेपाल भाषा पेश गरेको सन्दर्भको चर्चा गर्दै वडा अध्यक्ष महर्जनले आफ्नो भाषा र संस्कृतिमा गर्व गर्दै अघि बढ्न सकेमात्र विकासले दीर्घकालिन गति लिने बताए ।

