रिंकुको रहस्यमय मृत्युबारे प्रचण्डको चासो

फागुन १७, सिरहा । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखसँग रिंकुकुमारी सदाको शंकास्पद मृत्युको अनुसन्धान प्रक्रियाबारे जानकारी लिएका छन् ।

जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान’को क्रममा सिरहा आएका बेला उनले प्रजिअसहित सुरक्षा प्रमुखलाई बोलाएर घटनाबारे जानकारी लिएका हुन् । अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए । परिवारले हत्या नै भएको आशंका गरेकाले संवेदनशील भएर सत्यतथ्य अनुसन्धान गर्न उनले प्रशासनलाई आग्रह गरे ।

बलात्कारपछि पञ्चायतले मिलापत्र गराउन खोजेकाले घटना संवेदनशील भएको भन्दै उनले बलात्कार भएको देखिए पनि, हत्या वा आत्महत्या भए पनि यथार्थ छानबिन हुनुपर्ने र दर्ता भएका सबै जाहेरीमा अनुसन्धान हुनुपर्ने बताए । अध्यक्ष प्रचण्डले सिरहामै दाइजोसँग जोडिएको घटनामा अर्की एक महिलाको पनि मृत्यु भएको र यसको अनुसन्धानमा ध्यान नपुगेको परिवारबाट गुनासो आएको भन्दै यथार्थ अनुसन्धान गर्न आग्रह गरेका थिए ।

जवाफमा प्रजिअ र सुरक्षा प्रमुखहरूले प्राप्त जाहेरीका आधारमा अनुसन्धान भइरहेको र अनुसन्धान प्रक्रियामा दबाब नरहेको जानकारी गराएका थिए । गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेका थिए । उनी त्यसपछि घरमै मृत फेला परेकी थिइन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.