नेपाल मेडिकल कलेजले मनाए रजत जयन्ती

फागुन १४, काठमाडौं । प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा नेपाल मेडिकल कलेजले सञ्चालन गरेका सेवाहरूको प्रशंसानेपाल मेडिकल कलेजले आम सर्वसाधारणलाई सहज र सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा गर्नुभएको छ ।

मंगलबार कलेजको रजत जयन्ती समारोह तथा नवनिर्मित डेण्टल भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल सरकारका विभिन्न निकायबाट प्रदान गरिएका स्वास्थ्य बीमा कार्यक्रमसँगै गोकर्णेश्वर नगरपालिकासँग सहकार्य गरेर कलेजले प्रदान गर्दै आइरहेका स्वास्थ्य कार्यक्रमबाट गरिब, विपन्न तथा आम सर्वसाधारण नागरिकहरु लाभान्वित भएकोमा प्रशंसा गर्नुभएको हो । स्वास्थ्य क्षेत्रका विकासका लागि एकै पटक ३९६ आधारभुत अस्पतालको शिलान्यास गरेको थिए ।

यस्तै कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पनि कलेजले दक्ष जनशक्ति उत्पादन र जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । नेपालको चिकित्सा क्षेत्रको वृहत्तर विकास र विस्तारमा निजी क्षेत्रले महत्वपूर्ण योगदानको दिएको भन्दै सरकार निजी क्षेत्रसँग आवश्यक सहकार्य र समन्वय गर्दै अगाडी बढ्ने बताउनु भयो । नागरिकलाई गुणस्तरीय स्वास्थ्य प्रदान गर्न सरकारले ल्याएका बीमा कार्यक्रमहरुलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन सरकार लागि परेकोमा त्यसको कार्यान्वयनमा नेपाल मेडिकल कलेजले समन्वयकारी भूमिका निर्वाह गर्नेमा आफू विस्वस्त रहेको बताउनु भयो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले समेत नेपाल मेडिकल कलेजले स्थानीय तहसँगको सहकार्यमा स्वास्थ्य क्षेत्रको विकासमा पुर्याएको योगदानको चर्चा गर्दै कलेजको शैक्षिक कार्यक्रमहरुमा सिट संख्या थप्नुपर्ने, विदेशी विद्यार्थीहरु नेपालमा पढ्न आउने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।

कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले कलेजको विगत, बर्तमान अवस्थाका बारेमा बोल्दै सरकार एक्लैले जनतालाई स्वास्थ्य सेवा दिन नसक्ने बताउनु भयो । स्वास्थ्य प्राविधिक जनशक्ति उत्पादन गर्ने र स्वास्थ्उ सेवा प्रदान गर्ने सवालमा निजी क्षेत्रले ठूलो योगदान गरेको उहाँको दावी छ । तत्कालिन अवस्थामा अधिकांश चिकित्सा पेशामा संलग्न रहनुभएका व्यक्तित्वहरुको अठोटबाट चिकित्सा शिक्षा जस्तो तत्कालिन अवस्थामा नौलो व्यवसायिक काममा दुर्लभ आर्थिक श्रोत जुटाउने जमर्को गरी ‘‘नेपाल र नेपालीका लागि नेपालीकै लगानी’’ भन्ने मूल नाराका साथ २०५६ सालमा चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका विषयलाई एक साथ अगाडी बढाउन नेपाल मेडिकल कलेजको स्थापना भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले हालसम्म एमविविएसमा २ हजार २ सय ६२ जना, विडिएसमा ३ सय ३५ जना, विएस्सी नर्सिङ तर्फ २ सय जना, एमडि÷एमएसमा ३ सय १७ जना तथा एमएस्सी नर्सिङ, डिएम नेफ्रोलोजी, एमडिएसमा गरी कुल ३ हजार १ सय ५० जना दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न सफल भएको जनाउँदा कलेजबाट उत्पादित दक्ष जनशक्तिले राष्ट्रको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको तथा विदेशमा पनि अमेरिका, युरोप, अष्ट्रेलिया लगायत विश्वका विभिन्न भूभागमा सफलतापूर्वक सेवारत रहेको जिकीर गर्नुभयो ।

कलेजले साधारण देखि उच्चस्तर तथा विशिष्टीकृत स्वास्थ्य सेवाहरु प्रदान गरिरहेको, नेपाल सरकारको स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा, कर्मचारी सञ्चय कोषको स्वास्थ्य बीमा तथा गोकर्णेश्वर नगरपालिका स्थायी बासिन्दाका लागि सहुलियतपूर्ण स्वास्थ्य सेवा र विपन्न नागरिक उपचार कार्यक्रम सञ्चालन गरिरहेको छ । यस्तैगरी, निःशुल्क क्यान्सर उपचार सेवा तथा अत्याधिक समस्याका रुपमा देखिएको मिर्गौला रोगको उपचारको लागि सरकारले प्रदान गरिरहेको हेमोडायलाइसिस सेवा समेत सुचारु छ ।

प्रा.डा. अन्सारीले निजी क्षेत्रले सरकारबाट दिगो स्वास्थ्य शिक्षा नीति र कार्यक्रमको अपेक्षा गरेको बताउँदै स्वदेशमै स्वास्थ्य सम्बन्धी सबै किसिमको उपचारको व्यवस्था साथै, विशिष्टीकृत तहसम्म चिकित्सा विषयका सबै विधामा स्वदेशमै अध्ययन अध्यापन गर्न गराउन सक्ने गुणात्मक र संख्यात्मक व्यवस्था हुनुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय मेडिकल शिक्षा अध्ययनकै लागि अरबौं खर्च गरेर नेपाली विद्यार्थीहरु पलाउन भइरहेकोमा त्यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो । ‘नेपाल राष्ट्र बैंकको २०८१÷ ०८२ को ६ महिनाको तथ्याङ्क अनुसार उच्च शिक्षा अध्ययनका लागि विदेशिएको रकम ५६ अर्ब ८२ करोड रहेको छ । उच्च शिक्षा अध्ययनकालागि ६ महिनायता नेपाल भित्रिएको रकम मात्र २ अर्ब ६८ करोड रहेकोमा त्यो रकम मेडिकल साइन्स अध्ययन गर्ने विदेशी विद्यार्थीहरुबाट मात्र आएको हो । गत वर्ष मेडिकल साइन्स अध्ययन गर्ने विद्यार्थीबाट ६ अर्ब १ करोड रकम भित्रिएको थियो ।’ मेडिकल कलेजको सिट बढ्यो भने विदेशिने पैसा कम्ती हुने तथा नेपाल भित्रिने पैसामा बृद्धि हुने उहाँको जिकीर छ ।

प्रा.डा.अन्सारीले नेपाललाई मेडिकल एजुकेशनको हब बनाउने हो भने वर्षेनी सयौं विदेशी विद्यार्थी अध्ययनका लागि नेपाल आउने दावी गर्नुभयो । तर, त्यसकालागि स्वदेशी विद्यार्थीलाई नेपालमै पढ्न सक्ने वातावरण बनाउँदै बढी भन्दा बढी विदेशी विद्यार्थी ल्याउने योजना बनाइनु पर्ने उहाँको प्रस्ताव छ । हरेक वर्ष मेडिकल एजुकेशनका नाममा बाह्य प्रवाह हुने अरबौं नगद रोकिए स्वदेशी पुँजी र लगानी बृद्धि हुने तथा विदेशबाट अरबौं रकम नेपाल भित्रिँदा नेपालको अर्थतन्त्रमा समेत महत्वपूर्ण टेवा पुग्ने आधार बन्न सक्ने उहाँको धारणा छ ।

कलेजले हालसम्म एमबीबीएसमा दुुई हजार दुुई सय ६२, विडिएसमा तीन सय ३५, एमडिरएमएस र एमडिएसमा तीन सय २४ जना, विशिष्टीकृत सेवा अन्तरगत डिएम एमसीएचमा आठ, विएस्सी नर्सिङ र एमएस्सी नर्सिङमा दुुई सय आठ गरी स्थापनाकाल हालसम्म चार हजार ९८ जना दक्ष प्राविधिक जनशक्ति उत्पादन गरिसकेको छ । कार्यक्रममा कलेजका संस्थापकहरुलाई कदरपत्रद्वारा सम्मान समेत गरिएको थियो भने, सोही अवसरमा रजत जयन्ती स्तम्भको अनावरण, स्मारिकाको प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीद्वारा लोकापर्ण गरिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.