असोज ११, काठमाडौं । सर्वसाधारणले दसैंको अवसरमा २७ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले दसैंका लागि यही असोज २१ गतेदेखि २९ गतेसम्म सर्वसाधारणलाई नयाँ नोट साट्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले नयाँ नोट साट्न पाउने सीमा तथा मिति सार्वजनिक गरेसँगै नयाँ नोट पाउने स्थानबारे पनि जानकारी गराएको छ । राष्ट्र बैंकका अनुसार मुद्रा व्यवस्थापन विभाग, आफ्ना क्षेत्रीय कार्यालयहरु तथा केही वाणिज्य बैंकबाट नोट सटही गर्ने व्यवस्था मिलाएको हो । सर्वसाधारणले राष्ट्र बैंकको विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट नयाँ नोट साट्न पाउने छन् । त्यसैगरी राष्ट्र बैंकका नोटकोष रहेका वाणिज्य बैंकका शाखाहरु तथा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका केही शाखा कार्यालयबाट नोट साट्न पाइने छ । राष्ट्र बैंकका अनुसार नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखा, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार, नक्साल, कलंकी र बालाजु शाखा तथा कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु र मंगलबवार शाखाबाट नयाँ नोट सटही गर्न पाइनेछ ।
राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ नोट २–२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा अधिकतम २७ हजार रुपैयाँका दरले नयाँ नोट साट्न पाइनेछ ।
नोट सफा राखौं
यसैबीच नयाँ नोटमा केरमेट गर्न, काम नलाग्ने गरी जलाउने, गाल्ने, च्यात्नेजस्ता जथाभावी काम नगर्न प्रयोग नगर्न राष्ट्र बैंकले अनुरोध गरेको छ । नयाँ मुलुकी संहितले यस्तो कार्य गैरकानुनी भएकोले कानुनी व्यवस्था जानकारी गराउन यो सूचना प्रकाशन गरेको जनाएको छ । गत भदौ १ गतेदेखि लागू भएको मुलुकी संहिताको दफा २६३ मा नोटमा केरमेट गरे जलाए तथा नोटमा विभिन्न किसिमले हानि नोक्सानी पुर्याए ३ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।

