मान्छे खटाएर इलाममा बाबुको हत्या, छोरा-बुहारीसहित ६ जना पक्राउ

माघ ३०, इलाम । इलाममा आफ्नै बाबुको हत्या गर्नका लागि छोरा–बुहारीले मान्छे खटाएको खुलासा भएको छ । चारजना व्यक्ति खटाएर बाबुको हत्या गरेकाे आरोपमा छोरा-बुहारीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुर्योदय नगरपालिका–११ का २९ वर्षीय मंगेश भनिने एडवर्ड राई, उनकी श्रमिती २६ वर्षीया मालती तामाङ, सुर्योदय–११ कै २४ वर्षीय सुमन भनिने नवीनकुमार राई, सोही ठाउँका २६ वर्षीय निशान राई, २० वर्षीय राजिव राई र २३ वर्षीय दिवस राई रहेका छन् । अनुसन्धानको क्रममा यो समूहले सुर्योदय–११ का ५१ वर्षीय धनराज राईको हत्या गरेको खुलेको इलामका डीएसपी मानबहादुर राईले बताए ।

बाबुसँग विवाद भएपछि करिब ८ महिना पहिलेदेखि छोराबुहारी छुट्टै बस्दै आएका थिए । हत्याको एक साताअघि पनि अम्रिसो बेच्ने विषयमा छोराबुहारी र बाबुबीच विवाद भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । बाबुसँग विवाद भएपछि छोराबुहारी धनराजको हत्या गर्न अन्य चार जना खटाएको खुलेको डीएसपी राईले बताए । उनका अनुसार हत्यामा संलग्नहरुको खोजीका क्रममा सो कुरा खुलेको हो ।

यही २८ माघको दिउँसो ११ बजेतिर धनराज मृत फेला परेका थिए । धनराज आफ्नै घरमा मृत भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । धनराजको रड, फरुवा र आग्लो प्रहार गरेर हत्या भएको प्रहरीको भनाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.