माघ १६, काठमाडौँ । तामाङ समुदायाको राष्ट्रिय पर्व सोनाम ल्हाछार शुरू भएको छ । देशभर ल्होछारको अवसर पारेर शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम गरि नयाँ वर्षको स्वागत गरेको छ ।

बुधवार मञ्जुश्री सम्वत् २८६१ डुल ल्हो अर्थात् सा–पुख्रीको स्वागत डम्फूको ताल र टुङ्नाको धुनमा काठमाडौँको गोकर्णेश्वर स्थित जोरपाटीचोकमा धुमधामसंग गरिएको छ । लामा गुरु, ताम्बा र बोम्बोको विषेश पूजापाठपछि मौलिक कला, संस्कृति तथा रितिरिवाजलाई संरक्षण र प्रवद्र्धनमा विशेष जोड दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा तामाङ बुद्धिजिवी, तम्बा, कलाकार तथा पत्रकारहरूको उल्लेख्य सहभागी रहेका थिए ।

सेलो नेटवर्क, तामाङ जुहारी कलाकार संघ र सेवा फिल्मस्को संयुक्त आयोजनामा भएको सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक कुमार रिसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा उपप्रमुख सान्नानी लामा, बलेफी गाउँपालिका उपाध्यक्ष सरू तामाङ, तामाङ संघसंस्थाका अग्रज व्यक्तित्वहरूको आतिथ्यतामा सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिका स्तरीय ल्होछार शुभकामना तथा साँस्कृतिक कार्यक्रमले एकता, सद्भाव र सहकार्यको भावनालाई समेट्न सफल भएको वक्ताहरूले बताए । गोकर्णेश्वर नगरपालिका लगायत विभिन्न संघसंस्थाको सहकार्यमा आयोजित उक्त कार्यक्रमले स्थानीय तहमा ल्होछार महत्व बढ्दै गएको अतिथिको रूपमा उपस्थित अतिथिहरूले बताए ।

कार्यक्रममा ह्याङ्ला रिमठिम डम्फू संघ, दाङबोला ग्योइ रिमठिम, नेपाल तामाङ मौलिक ह्वाइला न्हान संघ, तामाङ जुहारी कलाकार संघ लगायतले तामाङ समुदायको कला, संस्कृति, भाषा र इतिहास तथा पहिचान झल्किने प्रस्तुति राखेका थिए । चर्चित गायिका इन्दिरा गोले, लाक्पा तेन्जिङ शेर्पा, आरवी सिङदान, चित्रबहादुर जिम्बा, छितिज बल, निरूता राई, प्रेमा शेर्पा चौटत, बैरागी च्याङ्बा लगायत कलाकारहरूले प्रस्तुति दिएका थिए ।




