असोज ११, न्यूयोर्क । संयुक्त राष्ट्र संघीय निकायमा वरिष्ठ सल्लाहकारका रुपमा कार्यरत एक अधिकारी आफूभन्दा तल्लो तहका कर्मचारीलाई यौन दूव्र्यवहार गरेको अभियोगमा बर्खास्त भएका छन् । रवि कारकरा नामका ती अधिकारी तल्लो तहमा काम गर्ने पुरुष कर्मचारीलाई यौन दुर्व्वहार गरेको अभियोगमा विगत १५ महिनादेखि अनुसन्धानको घेरामा थिए । अभियोग पुष्टि भएपछि उनलाई गएको सोमबार बर्खास्त गरिएको समाचार एजेन्सीहरूले समप्रेषण गरेका छन् ।
युएन वुमनका कार्यकारी निर्देशक फुमजाइल म्लाम्बो नुकाले एक वक्तव्य प्रकाशित गरी भनेकी छन्, ‘‘अनुसन्धान र अनुशासनात्मक प्रक्रियाबाट जाँदा एक स्टाफमाथि लागेको यौन दुर्व्वहार पुष्टि भएको छ । त्यसैले ती स्टाफलाई बर्खास्त गरिएको छ ।’’ रवि युएन वुमनका उपकार्यकारी निर्देशकका वरिष्ठ सल्लाहकारका रुपमा कार्यरत थिए । वक्तव्यमा रविले गलत काम गरेकाले कूटनीतिक उन्मुक्ति नपाउने जनाइएको छ । हाल न्यूयोर्कमा बस्दै आएका भारतीय नागरिक रवीले सञ्चारमाध्यमसँग कुनै टिप्पणी गर्न चाहेका छैनन् । यद्यपि आन्तरिक रुपमा भने उनले सो अभियोग अस्वीकार गरेको बताइएको छ । राष्ट्रसंघीय निकायले उनी सम्बन्धी अभियोगका कागजात गएको अगष्ट महिनामा प्राप्त गरेकोमा उच्च अधिकारीहरुबीच त्यसमा छलफल गरेर पछिल्लो निर्णय गरिएको जनाइएको छ । रविसम्बन्धी अनुसन्धान सन् २०१७ को जुनदेखि सुरु भएको थियो । रवि करकरा नेपालमा पनि कार्यरत थिए ।

