ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सरकार प्रतिबद्ध : मन्त्री दाहाल

माघ १, काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधारका रूपमा रहेको बताएका छन्।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा आज आयोजित ११ औँ तारेभीर महोत्सव उद्घाटन समारोहमा उनले नेपाल बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा रहेकाले विदेशी मुद्रा आर्जनका लागि यो क्षेत्र उपयोगी रहेको बताए। मौलिक पर्यटकीय गन्तव्यसम्म सडक एवं पूर्वाधारको विकास र विस्तार गरी ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सकिने भएकाले यसका लागि सरकार प्रतिबद्ध रहेको बताए।

यस अवसरमा स्थानीयका तर्फबाट तारेभीर चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मन्त्री दाहाललाई हस्तान्तरण गरिएको थियो। चक्रपथ निर्माण भएमा काठमाडौंमा रहेका दर्जनौँ ग्रामीण बस्तीको जनजीवन सहज हुनुका साथै आर्थिक गतिविधिसमेत चलायमान हुने बागमती प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री रामेश्वर फुँयालले बताए।

कार्यक्रममा विभिन्न समुदायका सांस्कृतिक झाँकीका साथै स्थानीय उत्पादन, परम्परागत सामग्रीको प्रदर्शनसमेत गरिएको थियो। आन्तरिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले २०७० सालदेखि हरेक वर्ष तारेभीर महोत्सव आयोजना हुँदै आएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.