नक्कली नोट बनाउने गिरोहका आठ जना पक्राउ

भदौ १७, काठमाडौं । प्रहरीले नक्कली नोट बनाउने कार्यमा संलग्न गिरोहलाई पक्राउ गरेको छ ।

सर्लाहीको सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२, मधुबनी गाउमा सिँचाइका लागि बोरिङ राख्न बनाइएको खाली घरभित्र नक्कली नोट बनाउने कार्य भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी र सशस्त्र प्रहरीको टोलीले नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आठ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरी नगरपालिका–१५, बस्ने २६ वर्षीय सौगात थापा मगर, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६, बस्ने ४७ वर्षीय विजय लामा, सर्लाहीको गोडैता नगरपालिका–१२, मधुबनी गाउँ बस्ने ३२ वर्षीय जनार्धन सिंह र रौतहटको चन्द्रपुर नगरपालिका नराई टोल बस्ने ३७ वर्षीय विशाल राई रहेका छन्।

त्यस्तै, ललितपुरको ललितपुर महानगरपालिका–१, कुपनडोल बस्ने ३३ वर्षीय सन्जय राना मगर, भक्तपुरको चाङ्गुनारायण नगरपालिका–५, बस्ने ३७ वर्षीय अमिर खत्री, भारत सीतामढी थाना बैरगनिया ग्राम पन्चायत पानी टङ्की बस्ने ४९ वर्षीय पप्पु भन्ने राजिव ठाकुर र भारतकै मेजरगन्ज पन्चायत–८, बस्ने ४० वर्षीय सुवोध कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट एक हजार नोटको साइजमा काटिएको कागज १४ थान, विभिन्न रङ्गका आठ लिटर केमिकल, ९५ हजार ८०५ नेपाली रुपैयाँ, १० थान मोवाइल सेट, एउटा नेपाली स्कारपियो र दुई वटा भारतीय मोटरसाइकल बरामद गरेको छ । पक्राउ परेका आठै जना व्यक्ति र बरामद भएका समान जिल्ला प्रहरी कार्यालय मलङ्गवामा ल्याएर थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रविन्द्रबहादुर सिंहले जानकारी दिए । पक्राउ परेका आठ जनाविरुद्ध अनुसन्धान गर्न सर्लाही जिल्ला अदालतले प्रहरीलाई १० दिनको म्याद प्रदान गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.