असोज ५, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव पेङ छिङुहवाले छेन्दुमा महावाणिज्य दूतावास खोल्न नेपालसँग आग्रह गरेका छन् ।
चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटमा उनले छिट्टै नेपालले छेन्दुमा महावाणिज्य दूतावास खोल्ने आशा व्यक्त गरेका हुन् । छेन्दु सिचुवान प्रान्तको राजधानी हो । “सम्माननीज्यू नेपाल फर्कनासाथ छेन्दुमा महाणिज्य दूतावास खोल्नेमा नेपाल सरकारले निर्णय लिनेमा आशावादी छु”, भेटमा सचिव पेङको भनाइ उद्वृत गर्दै उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “महावाणिज्य दूतावास स्थापना भएमा हामीलाई धेरै सहज हुनेछ ।” उपराष्ट्रपति पुन छेन्दुमा आयोजित एक मेलामा सहभागी हुन त्यहाँ पुगेका हुन् । यसै क्रममा शुक्रबार विहान चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव पेङले उनीसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
भेटमा उपराष्ट्रपतिले नेपाल चीन सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका थिए । सिचुवान प्रान्त र नेपालको सम्बन्ध विशिष्ट रहेको बताउँदै उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपाली भूमिलाई चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता समेत जनाएका थिए । चीन र नेपालबीच भएका पछिल्ला सम्झौता र समझदारीहरुले दुई देशबीचको सम्बन्ध परम्परागत भन्दा माथि उठेको दाबी उनले गरेका थिए । उपराष्ट्रपति पुनले व्यापार तथा पारवाहन सम्झौता, बिआरआईमा नेपालको सहभागिता र व्यापार तथा पारवाहन सम्बन्धी प्रोटोकलमा भएको सहमतिले दुई देशबीचको सम्बन्ध प्रगाढ भएको र सहकार्य विस्तार भएको जनाए । नेपाल राजनीतिक स्थायित्व हासिल गरेर आर्थिक समृद्धिको मार्गमा अगाडि बढिरहेको उल्लेख गर्दै उनले नेपालको आर्थिक समृद्धिको यात्रामा चीनको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । भेटमा उनले नेपालमा तीन वर्षपहिले भूकम्प जाँदा सबैभन्दा पहिले सिचुवान प्रान्तका प्रतिनिधि गएर उद्धार र राहतमा सहयोग गरेको स्मरण गरेका थिए ।
उपराष्ट्रपतिले नेपालमा लगानीका लागि प्रचुर सम्भावना रहेको उल्लेख गर्दै जलविद्युत्, कृषि, पर्यटन, जडिबुटी र भौतिक पूर्वाधारको क्षेत्रमा लगानीका लागि आग्रह समेत गरेका थिए । नेपालसँग भएको प्राकृतिक स्रोत साधनको उच्चतम उपयोग गर्न चीनसँग भएको प्रविधि, अनुभव र पूँजीको खाँचो रहेको उनले औंल्याएका थिए ।
उपराष्ट्रपति पुनले सन् २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउन लागेको जानकारी गराउँदै सरकारी प्रयासबाटै चिनियाँ नागरिकमाझ प्रचारप्रसार गरिदिन आग्रह गरेका थिए । उनले अहिले नेपालमा सबैभन्दा धेरै भ्रमण गर्ने विदेशी पर्यटकमा चिनियाँ रहेको समेत जनाए । जवाफमा सिपिसीका सिचुवान प्रान्तका सचिव पेङले चीन नेपाल सम्बद्ध विशिष्ट प्रकारको रहेको जनाउँदै उपराष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाएको बताए । सचिव पेङले नेपालको चौतार्फी विकासका लागि सहकार्य गर्न सिचुवान प्रान्त तयार रहेको बताए ।
नेपालको भ्रमण गर्नेमा सिचुवान प्रान्तका नागरिक अधिक रहेको उल्लेख गर्दै सचिव पेङले नेपालको प्राकृतिक सुन्दरताको अवलोकन गर्न र संस्कृतिको अनुभव गर्न चिनियाँ नागरिक आतुर रहेको जनाए । दुई देशबीचको सम्बन्ध सुधार तथा सहकार्यलाई सहज बनाउन छेन्दुमा नेपालले महावाणिज्य दुतावास चाँडै खोल्नुपर्ने सझुाव उनले दिएका थिए ।

