हेलिकप्टर दुर्घटनामा मृत्युमध्ये ४ जना चिनियाँ नागरिक

साउन २३, काठमाडौं ।  नुवाकोटको शिवपुरी गाउँपालिका-७, सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको छ ।

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।

आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याँफ्रुबेसीका लागि उडान भरेको उक्त हेलिकप्टर तीन मिनेटपछि सम्पर्कबिहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।

दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ खोज तथा उद्धारका लागि सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

हेलिकप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिक सवार रहेको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिए ।

सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सशस्त्रको सुरक्षा बेस बालाजुबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १० जना तथा १९ नम्बर गणबाट सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा ४५ जनाको टोली घटनास्थलतर्फ पठाइएको छ । साथै ककनीस्थित यूएन तालिम केन्द्रबाट समेत सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा थप ११ जनाको टोली पनि खटाइएको उनले जानकारी दिए ।

खोज तथा उद्धारका लागि काठमाडौँबाट प्रभु कम्पनीको ९ एन–एएनएल हेलिकप्टर दुर्घटनास्थलतर्फ पठाइएको क्यानले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.