१० वटा विषयगत समितिका सभापति बिहीबार निर्विरोध चयन

असोज ५, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति बिहीबार निर्विरोध चयन भएका छन्।

प्रतिनिधिसभाका अर्थसमितिमा कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विमलप्रसाद श्रीवास्तव, कानुन, न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेल, कृषि र सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी सभापति बन्नुभएको छ। यस्तै महिला तथा सामाजिक समितिमा निरुदेवी पाल, राज्य व्यवस्था समितिमा शशी श्रेष्ठ, विकास तथा प्रविधि समितिमा कल्याणी खड्का, शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्ती र सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेसका भरतकुमार साह सभापति बन्नुभएको छ।

संसद्को संयुक्त समितिका रूपमा रहेका सार्वजनिक सुनुवाइ समिति, राज्यका निर्देशक सिद्धान्त समिति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको निर्वाचन आइतबार हुने भएको छ। सुनुवाइमा राजपाका सांसद लक्ष्मणलाल कर्ण र अनुगमन तथा मूल्यांकन समितिमा नेकपाकी निरादेवी जैरु सभापति हुने निश्चित भएको छ। सभापतिले राज्यमन्त्रीसरह सुविधा पाउनेछन्। सभापतिमध्ये कर्ण, दाहाल, खरेल, श्रीवास्तव, पोखरेल, साह निर्वाचित सांसद हुनुहुन्छ। प्रतिनिधिसभा नियमावलीमा ३३ प्रतिशत सभापति महिला हुनुपर्ने व्यवस्था छ। तर प्रतिनिभिसभामा नै ६० प्रतिशत सभापति महिला भएका छन्। सबैभन्दा बढी सदस्य विकास तथा प्रविधि समिति र सार्वजनिक लेखा समितिमा रहेका छन्, यी समितिमा २७ जना सदस्य छन् भने कानुन, न्याय तथा मानव अधिकार समितिमा २३ सदस्यमात्र छन्। आज शुक्रबार ११ बजेका लागि मतदानको सूचना प्रकाशित गरिएको थियो। निर्वाचन कार्यतालिकाअनुसार बिहीबार साँझ ५ बजेसम्म उम्मेदवार दर्ताको समयसम्म सबै समितिमा एक जनाको मात्र उम्मेदवारी परेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो।

आज ११ बजे सबै समितिको बैठक बोलाइएको छ। बैठकको सभापतित्व गरिरहेका सभापतिले निर्विरोध निर्वाचित सभापतिलाई सभापति घोषणा भएको जनाउँदै जिम्मेवारी सुम्पनेछन्। प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले २ बजे सभापतिको शपथ हुने सम्भावना रहेको जनाउनुभएको छ। भदौ ५ गते पहिलोपटक निर्वाचनको मिति तोकिएको थियो भने त्यसपछि १७ गतेका लागि तोकिएको निर्वाचन पनि अन्तिम अवस्थामा आएर सरेको थियो। राष्ट्रियसभामा रहेका ४ वटा विषयगत समितिको निर्वाचनबाट सभापति चयन भइसकेका छन्। दिगो विकास तथा सुशासन समितिमा नेपाली कांग्रेसकी सांसद तारादेवी भट्ट सभापति हुनुहुन्छ, अन्य समितिमा नेपाल कम्युनिस्ट पार्टीका परशुराम मेघी गुरुङ, रामनारायण बिडारी र दिलकुमारी रावल थापा (पार्वती) सभापति हुनुहुन्छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.