साउन १९, काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले हैसियतअनुसार काम गर्न नसक्दा महानगरको स्तर खस्किएको बताएका छन् ।
शनिबार नेपाल खेलकुद महासंघ काठमाडौंले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै पूर्वप्रमुख शाक्यले महानगर प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै धरहरा भत्काइदिने भन्दै आपत्तिजनक अभिव्यक्ति दिन वाञ्छनीय नहुने बताए। उनले अरुलाई गाली गरेर जस लिने तर काम केही पनि नगर्ने प्रवृत्ति हुनु नहुने बताए ।
पूर्वप्रमुख शाक्यले आफू काठमाडौं महानगरको मेयर हुँदा महानगरले विभिन्न राम्रा कामहरु गरेको उल्लेख गर्दै आफू मेयर रहँदासम्म काठमाडौं महानगरपालिकाको हैसियत सरकारले ९ औं स्थानमा राखेको भएपनि अहिले हैसियतअनुसार काम नहुँदा १७ औं स्थानमा पुगेको जिकिर गरे । पूर्वमेयर शाक्यले स्थानीयको इच्छा विपरित कामनपाले काम गरिरहेको बताए । उनले न्युरोडमा नगरप्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको आरोप लगाए । जनप्रतिनिधि सडकमा र नगर प्रहरी लाठी बोक्ने काममा लगाएको बताए ।
पूर्वप्रमुख शाक्यले नगरप्रहरीको बलमा गुण्डागर्दी सह्य नहुने पनि बताउँदै नगर प्रहरी अनावश्यक रुपमा थपिएको भन्दै आवश्यकता नरहेको जिकिर गरे । भत्काउने काममा मात्रै महानगर लागेको भन्दै महानगरवासी बनाएको भन्नेकुरा सुन्न आतुर रहेको शाक्यले बताए । उनले महानगरपालिकाले करको सही सदुपयोग गर्नुपर्ने र सत्तामा भएकाहरु आफू रमाउनको लागि नभइ भविष्यको पुस्ताको खुशीका लागि लाग्नुपर्ने बताए ।

