सही कर्म गरी जीवन सार्थक तुल्याउन आग्रह

असार १२, काठमाडौँ । भारतकी प्रसिद्ध नारीरत्न राजेश्वरी मोदी (राजदिदी) ले जीवन र त्यससँग सम्बन्धित अध्यात्मिक पक्षका बारेमा उजागर गर्नुभएको छ ।

नारायण रेकी सत्सङ्ग परिवार मुम्बईको भ्रातृ संस्थाका रूपमा स्थापित नारायण रेकी सत्सङ्ग परिवार काठमाडौँको आयोजनामा भएको ‘जिन्दगीभर सुखी रहने मन्त्र’ विषयक कार्यक्रममा उहाँले मानिसले आफ्नो जिन्दगीमा उसले गरेको कर्मको फल भोग्ने हुँदा सही कर्म गर्नुपर्ने कुरा औँल्याउनुभयो । उहाँले भन्नुभयो, “हामी बबुलको रूख रोप्दैछौँ र हामी आँप खान चाहन्छौँ त्यो कदापि सम्भव छैन आँप खानलाई आँपकै बिरुवा रोप्नु पर्दछ ।” राजदिदीले अरूको अधिकार खोस्ने र अनैतिक सम्बन्ध राख्नाले स्वास्थ्य खराब हुने र घरमा दुःख, गरिबी र अशान्ति आउने कुरा बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो आधारभूत बल भनेको आमाबुबा, सासूससुरासँगको सम्बन्ध हो । आमा मायाको प्रतीक हो तर बुबा सुपरहिरो हुनुहुन्छ । हरेक बुबाले आफ्ना सन्तानलाई राम्रो जीवन बिताउन सकोस् भनेर शत्प्रतिशत दिनुहुन्छ, मार्गदर्शन गर्नुहुन्छ, सहयोग र प्रोत्साहन गर्नुहुन्छ ।”

उहाँले साक्षात् नारायणले आमाबाबुप्रतिको कृतज्ञता, माया, आदर र स्याहार व्यक्त गर्ने अवसर दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सबै आमाबाबुलाई बिना सर्त आदर र हेरचाह गर्नुपर्छ ।” प्रवचनका क्रममा राजेश्वरी मोदीले शब्दमा ब्रह्मतत्वको शक्ति हुने र राम्रो कर्म गरेमा भगवान्ले हाम्रो असल चाहनालाई प्राप्त गर्नेतर्फ हामीलाई आकर्षित गराउन शक्तिको प्रवाह गर्नुहुने कुरा उल्लेख गर्नुभयो । रेकीको वास्तविक अर्थ ब्रह्माण्डको ऊर्जासँग जोडिएको बताउँदै उहाँले मानव शरीर तथा मस्तिष्कमा सकारात्मक ऊर्जाको प्रवाहमार्फत सकारात्मकतातर्फ अग्रसर हुने कार्य यससँग सम्बन्धित रहेकाले यस विद्याको फाइदा उठाएर आफ्नो जीवन सहज बनाउन आग्रह गर्नुभयो ।

सन् २०१५ मा भारतको मुम्बईमा स्थापित यस संस्थाको मूल मन्त्र ‘सबै व्यक्ति तन, मन, धन र सम्बन्धबाट स्वस्थ रहून्’, ‘सबै घरमा सुख, शान्ति, समृद्धि होस्,’ ‘सबै व्यक्तिले उन्नति, प्रगति र सफलता प्राप्त गरोस्’ भन्ने रहेको छ । रेकी विद्याको माध्यमबाट आफ्नो उद्देश्य प्राप्त गर्न स्थापित यस संस्थाले आफ्नो स्थापनाकालदेखि नै प्राकृतिक चिकित्सा अर्थात् योग, ध्यान तथा चक्र साधनाको क्षेत्रमा कार्य गर्दै आएको छ । यस संस्थाको देश र विदेशमा गरी ७५ भन्दा बढी शाखामार्फत सकारात्मकता फैलाउँदै र तनाव र द्वेषरहित उत्कृष्ट जीवन जिउने अभिप्रेरणा दिँदै आएको छ ।

काठमाडौँस्थित नारायण रेकी सत्सङ्ग केन्द्र प्रमुख ऋचाजी केडियाले नारीरत्न राजेश्वरी मोदी (राजदिदी)ले सामाजिक सेवामा पु¥याँउदै आउनुभएको योगदानका बारेमा प्रकाश पार्नुभयो । सत्सङ्ग कार्यक्रममा उद्योगी, व्यवसायी, कर्मचारीदेखि सर्वसाधारण गरी झन्डै सात सयको सक्रिय सहभागिता रहेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.