जेठ २६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने बताउनुभएको छ ।
हेटौँडा उपमहानगर कमिटीको प्रथम अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले समाजवादको बाटोमा अघि नबढे आगामी दिनमा पार्टीमा सङ्कट आउने बताउनुभयो । “एमालेले अहिले पनि जबज भनिरहेको छ, तर अरू पार्टीले समाजवादी कुरा मात्र गरिरहेका छन् । एमालेले पनि अब समाजवाद नीति लिनुको विकल्प छैन”, उहाँले भन्नुभयो ।
कार्यक्रममा पार्टीका पोलिट्ब्यूरो सदस्य घनप्रसाद गौतम, केन्द्रीय सदस्य मुनु सिग्देल, हेटौँडा उपमहानगरप्रमुख मीनाकुमारी लामा, संविधानसभा सदस्य राजाराम स्याङ्तान, पार्टीका नेताहरु यादव गजुरेललगायतका उपस्थिति थियो ।

