पार्टीको अखडा बन्दै टेलिकम, एमडी नियुक्त गर्न नियम संशोधन

जेठ २२, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको एमडी नियुक्त गर्न नियम संशोधन गरेको छ । एमडी नियुक्तका लागि मन्त्रालयले दरखास्त आव्हान पनि गरेको छ ।

यसअघि नेपाल दूर सञ्चार प्राधिकरणको नेतृत्व माओवादी निकट भूपेन्द्र भण्डारीले पाएका छन् । कतिपयले भण्डारीलाई कमजोर कार्य क्षमताका कारण मुलुकमा इन्टरनेट सेवामा समस्या उत्पन्न भएको आरोप लगाएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्राधिकरणको अध्यक्ष बनाउन नियमावली पनि संशोधन गराएका थिए । त्यस्तै टेलिकमको पनि नियमावली संशोधन गरिएको छ ।

संशोधित नियमावली अनुसार सिभिल र मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर उत्तीर्ण गरेकाहरूले पनि एमडी बन्न पाउनेछन् । यसअघि मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेकट्रोनिक्स इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङमध्ये एक विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण हुनुपर्ने थियो ।

नयाँ नियममा एमडी बन्ने उमेर५८ वर्ष कायम गरिएको छ । यसअघि ५६ वर्ष थियो । यस अघिसम्म नेपाल दूर सञ्चार कम्पनी वा सो प्रकृतिका दूर सञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निकायको व्यवस्थापकीय नेतृत्वमा कम्तीमा ३ वर्षसहित १३ वर्ष काम गरेको अनुभव आवश्यक पर्ने व्यवस्था थियो ।

अहिले व्यवस्थापकीय नेतृत्वको ३ वर्षे अनुभव हटाइएको छ । अब जुनसुकै तहमा १३ वर्ष काम गरेको अनुभव भए एमडी बन्न पाउनेछन् ।टेलिकमका अघिल्ला एमडी सुनिल पौडेल भ्रष्टाचार मुद्रामा दोषी ठहर भएपछि ढिलो गरी सरकारले टेलिकममा एमडी नियुक्ति प्रक्रिया अघि बढाएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.