जेठ २१, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तामाङ भाषा (सम्भोटा लिपि) मा पाठ्यपुस्तक विकास गरी कार्यान्वयन गर्न स्वीकृति दिएको छ ।
राष्ट्रिय अभिलेखालयबाट प्राप्त प्रमाणित सम्भोटा लिपिअनुसारका पाठ्यपुस्तक कार्यान्वयन गर्न गराउनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्ने निर्णय भएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको मन्त्रिस्तरीय निर्णयबाट सम्भोटा लिपिमा पाठ्यपुस्तक तयार गर्न स्वीकृति दिइएको छ । यो निर्णयसँगै पाठ्यक्रम विकास केन्द्रको स्थानीय तहबाट ऐच्छिक विषयका रुपमा विकास गरिने सम्भोटा लिपिका विद्यालय तहको पाठ्यपुस्तकमा राष्ट्रिय अभिलेखालयबाट प्रमाणित सम्भोटा लिपिअनुसारका पाठ्यपुस्तक प्रकाशित गर्न सकिने मन्त्रालयले जनाएको छ ।
तामाङ मातृभाषा सम्भोटा लिपि प्रतिष्ठान लगायतले देवनागरी लिपि र सम्भोटा लिपिलाई छाँटकाँट गरी २४ वटा वर्णमाला बनाइ पाठ्यक्रम तयार गरेका थिए । तामाङ समुदायका अभियन्ताले यस पुस्तकबाट आगन्तुक शब्दहरू लेखनकार्य गर्न नसक्ने भएकाले यसलाई सच्याइ पाउँ भनी पटकपटक निवेदन दिएका थिए ।

