तीन पत्रकार संगठन एउटै कित्तामा : महासंघले निर्णय नसच्याए तालाबन्दी जारी रहने

जेठ १५, काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको छ। महासंघको निर्वाचन पूर्वसन्ध्यामा सदस्यता वितरणप्रति असन्तुष्टि जनाउँदै तीन संगठनले ताला लगाएका हुन्।

समाजवादी प्रेस संगठन नेपाल, प्रगतिशील पत्रकार संघ, नेपाल र प्रेस मञ्च, नेपालले मंगलबार महासंघको मुलगेटमा तालाबन्दी गरेको विज्ञप्तिमार्फत जनाएका छन्। नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन अन्तर्गत यही जेठ २६ गते निर्वाचन हुँदैछ। तर, महासंघले सदस्यहरूको अन्तिम नामावली अझै प्रकाशन गरेको छैन। शुद्धीकरणका क्रममा राजनीतिक आस्थाका आधारमा सदस्यता वितरण गरिएको असन्तुष्ट संगठनहरूको आरोप छ।

‘सदस्यता शुद्धीकरणका नाममा पत्रकारिता गर्ने पत्रकारलाई सदस्य हुनबाट बञ्चित गर्ने, तयार पारिएको मापदण्डको आफूखुशी व्याख्या गर्दै फरक विचार, सम्प्रदाय र समुदायका पत्रकार वा संगठनसँग प्रतिशोध साँध्नेजस्ता कार्य तत्काल बन्द गरी सदस्यता विवाद शीघ्र हल गरिनुपर्छ’ तीन संगठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा महासंघको केन्द्रीय नेतृत्वका जिम्मेवार पदाधिकारी तथा सदस्य सन्तुष्ट हुन नसकेको, फरक फरक बैठक एवं छलफल भइरहेको कुराले पनि सदस्यता विवरणमा चरम लापरवाही भएको पुष्टि हुन्छ।’

ती विषय हल नहुँदासम्म महासंघको केन्द्रीय कार्यालयसहित विभिन्न शाखामा भइरहेको तालाबन्दी जारी राखिने उनीहरूले स्पष्ट पारेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.