वडामा नै प्रसुति भवन निर्माण सुरु

जेठ १५, काठमाडौँ । भौगोलिक विकटताका कारण समस्या भोग्दै आएका भोजपुर कोटका स्थानीय वडामा नै प्रसूति भवन निर्माण सुरु भएपछि उत्साहित भएका छन् ।

सामान्य प्रसूति गराउनसमेत घण्टौँ लगाएर स्टे«चर तथा डोकोमा बोकेर सदरमुकाम जानुपर्ने बाध्यतामा रहेका स्थानीय गाउँमा नै सुविधा थपिने भएपछि उत्साहित भएका हुन् । प्रसूति सेवा लिनका लागि घण्टौँ लगाएर स्टे«चर तथा डोकोमा बोकेर जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता हट्ने स्थानीय तथा वडासदस्य नवीन श्रेष्ठले बताउनुभयो । वषौँपछि गाउँमा नै सुरक्षित प्रसूति सेवा लिने वातावरण बन्ने भएपछि खुसी लागेको उहाँको भनाइ छ ।

“गाउँमा नै प्रसूति केन्द्र निर्माणले उत्साह थपिएको छ”, उहाँले भन्नुभयो, “गाउँमा सुरक्षित प्रसूति गराउन ठाउँ नहुँदा धेरै समस्या थियो, व्यथा लागेपछि यातायातका साधन नचलेको अवस्थामा डोको तथा स्टे«चरमा बोकेर लैजानुपर्ने बाध्यता थियो, अब भने त्यो समस्या अन्त्य हुन्छ भन्नेमा आशावादी छौँ ।” स्थानीयको वर्षौंको समस्या समाधान गर्ने लक्ष्यले केन्द्र सरकारसँग पटक पटक बजेट माग गरेर भवन निर्माण गर्न सफल भएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो । केन्द्रबाट विनियोजन भएको रु २० लाख बजेटमा प्रसूति केन्द्र भवनको निर्माण भइरहेको वडाध्यक्ष नेपालले जानकारी दिनुभयो । भवनबाट सेवा सुरु भएपछि यहाँका गरिब तथा विपन्न परिवारलाई प्रत्यक्ष लाभ पुग्ने उहाँको भनाइ छ ।

“धेरै मेहनतपछि प्रसूति भवन निर्माण गर्न सफल भएका छौँ”, वडाध्यक्ष नेपालले भन्नुभयो, “यहाँ प्रसूति सेवा नहुँदा नागरिकलाई अति नै समस्या छ, भवन निर्माण भएर सेवा सुरु भएपछि नागरिकलाई सहजता हुन्छ ।” निर्माणको काम यही आर्थिक वर्षभित्र सम्पन्न हुने जनाइएको छ । हिउँदको समयमा यातायात सेवा सञ्चालन भए पनि वर्षाको याममा भने यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिन समस्या रहेको छ । जिल्लाका दुर्गम क्षेत्रका नागरिकले समयमा सहज प्रसूति सेवा नपाउँदा ज्यान गुमाउनु परेको दुःखद अवस्था पनि छ । नागरिकको आधारभूत आवश्यकताका रुपमा रहेको स्वास्थ्यजस्तो संवेदनशील विषयमा राज्य गम्भीर बन्न आवश्यक स्थानीयले बताउने गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.