कार्यदलको बैठक निष्कर्षविहीन, शुक्रबार बिहान पुनः बस्ने

जेठ १०, काठमाडौँ । सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको आज बसेको बैठक निष्कर्षविहीन बनेको छ ।

आज सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा संसदीय छानबिन समितिको कार्यादेशका बारेमा छलफल भएको नेकपा (एमाले) को संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडानका कारण बैठक निष्कर्ष विहीन भएको उहाँको भनाइ छ । उहाँका अनुसार उक्त कार्यदलको बैठक शुक्रबार बिहान फेरि बस्ने तय भएको हो ।

“बैठक निष्कर्षविहीन भयो”, उहाँले भन्नुभयो, “सहमति जुटन नसकेपछि निष्कर्ष विहीन भएको हो । आजको बैठकबाट करिब करिब ठ्याकै टुङ्गो चाही भोलि बिहान ८.३०  बजे लगाउने गरी समितिको केही कार्या देश विषयमा नजिक पुग्यौँ । ” नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैठकमा सरकारपक्षबाट राखिएको मौखिक प्रस्तावमा नाम नराखी छानबिनको दायरा अघि बढाउनसक्ने आशय आफूहरुलाई स्वीकार्य नभएको बैठकपछि सञ्चारकर्मीलाई बताउनुभयो ।

“विपक्षी दलले उपप्रधान एवं गृहमन्त्री लामिछाने छानबिन सम्बन्धित व्यक्तिकै बारेमा छानबिन नगरिकन कांग्रेसले कार्यदलमा सहमति गर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “हामीले स्पष्ट रुपमा भनेका छौँ, यसबारे छानबिन समिति बनाउनुपर्छ भनेर उठाएका हौँ, जबसम्म त्यहाँ पुग्दैन हामी मान्दैनौँ भनेर भनेका छौँ । आजको बैठकमा सरकारपक्षलाई यही कुरा राखेको छु ।”

प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने तय भएको छ । सभाको बैठक अघि कार्यदलले सहमति जुटाउन बैठक बस्ने जनाएको छ । उक्त कार्यदलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, प्रमुख सचेतक बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनाल, कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की र परियार हुनुहुन्छ

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.