कैलाश सिरोहिया कान्तिपुर मुख्यालयबाटै गिरफ्तार

जेठ ८, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । दोहोरो नागरिकता प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जनाइएको छ ।

यसअघि सिरोहियाका दुईवटा नागरिकता रहेको भन्दै गृह मन्त्रालयले अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएलगत्तै धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । धनुषा प्रहरीको अनुरोधमा उपत्यका अपराध कार्यालयका एसपी रवीन्द्र रेग्मीको कमान्डमा कान्तिपुरको हेडक्वाटर पुगेको प्रहरी टोलीले सिरोहियालाई पक्राउ गरेको हो । त्यसअघि सिरोहियाले आफूलाई गृहमन्त्री रवि लामिछानेविरुद्ध कान्तिपुरमा प्रकाशित समाचारको रिसिइबी साँध्न पक्राउ गरिएको जनाएका थिए ।

सिरोहियाले जारी गरेको एक विज्ञप्तिमा गृहमन्त्रीले रिसिइबी साँधेको उल्लेख छ ।

उनले भनेका छन्, “कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रुपमा तयार म छु । तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित हुने छैन । सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो । म आफैँ पनि जेल गएको हुँ । निरंकुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षडयन्त्र भएको हो । तर, कान्तिपुर हरेक घडीमा निर्भीक रुपमा उभिँदै आएको छ । म अहिले पनि म व्यक्तिगत रुपमा हरेक मूल्य चुकाउन तयार छु तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन ।”

उनले सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरुमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी भएको उल्लेख गर्दै उनले भनेका छन्, “कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन । यी सबबीचमा पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि हट्ने छैन ।”

उनले समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गर्ने पदाधिकारीलाई चेतावनीको शैलीमा भनेका छन्, “दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्ने व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो ? अर्को प्रश्न, जनमतको जिम्मेवारी सुशासन स्थापनाको प्रत्याभूतिका लागि हो कि आफ्नो बेथितिको ढाकछोप गर्न र आफूमाथि प्रश्न गर्ने नागरिक र सञ्चारमाध्यममाथि व्यक्तिगत प्रतिशोध लिनका लागि हो ? सरकार, राज्यका हरेक जिम्मेवार निकाय, राजनीतिक दल, नागरिक समाज र समस्त सचेत नेपालीले विवेक प्रयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ । राज्य शक्ति र स्रोतको दुरुपयोग गर्नेमाथि कान्तिपुरको खबरदारी जस्तोसुकै प्रतिकूलताबीच पनि निरन्तर छ । कान्तिपुरको पहिचान र विरासत यही हो ।”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.