जेठ ७, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले व्यापार, लगानी प्रवद्र्धनका लागि नीतिगत सुधारका लागि जीटुजी स्तरमा नियमित संवाद हुन आवश्यक रहेको बताउनु भएको छ ।
सोमवार काठमाडौंमा भएको बिमस्टेक क्षेत्रको विकास र समृद्धिको लागि क्षेत्रीय तालमेल विषयमा बिमस्टेकका महासचिवसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । उहाँले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास भएको भन्दै यसले नेपाल, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्याण्ड र भारतलाई व्यापार, उद्योग र पारस्परिक हितका क्षेत्रमा सहकार्यका लागि ल्याउँने दाबी गर्नु भयो ।
पूर्वअध्यक्ष राणाले विगत पाँच वर्षमा बिमस्टेक सदस्य राष्ट्रहरूले कोभिड–१९ महामारीले ल्याएको आर्थिक झट्कामा चुनौतीको सामना गरिरहेको बताउनु भयो । उहाँले बिमस्टेक देशहरूमा भारत बलियो अर्थतन्त्रको रूपमा रहेको भन्दै बिमस्टेक सदस्यहरू सदस्य राष्ट्रहरूको व्यापार र आर्थिक अवसरहरूको दोहन गर्ने ’प्राकृतिक प्लेटफर्म’ मा परिणत भई सहजीकरण, समन्वय, लगानी र व्यापार अन्वेषण गर्ने सम्भावित देश हुन सक्ने बताउनु भयो । उहाँले बिमस्टेक देशहरूबीचको क्षेत्रीय सहयोग र एकीकरणलाई गति दिन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नु भयो । बिमस्टेकलाई स्वतन्त्र व्यापार क्षेत्र बनाउन सबै सदस्य राष्ट्रले भने पनि यस सम्बन्धमा के प्रगति भयो निजी क्षेत्रले थाहा पाउन नसकेको बताउनु भयो ।
उहाँले सदस्य राष्ट्रहरूको हितका लागि स्वतन्त्र व्यापार क्षेत्र बनाउनलाई तीव्रता दिनु पर्ने बताउनु भयो । उहाँले सदस्य राष्ट्रहरूले बिमस्टेक क्षेत्रभित्र आफ्ना वस्तु तथा सेवाहरू सहज रूपमा निर्यात गर्न नसकेमा निजी क्षेत्रका लागि दीर्घकालीन फाइदा नहुने बताउनु भयो ।
उहाँले नेपालको झण्डै दुई तिहाइ व्यापार भारतबाट हुने र कोलकाता, हल्दिया, विशाखापट्टनमलगायत विभिन्न बन्दरगाहबाट नेपाललाई व्यापार सहजीकरणका लागि भारतले पनि सहयोग गर्दै आएकोले व्यापार तथा पारवहन सहजीकरणका लागि भारत अगाडि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले कार्गो आगमनमा शुल्क र ढिलाइ अझै अवस्थित रहेको भन्दै सही काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बिमस्टेक क्षेत्रीय समूहमा भुटान र नेपाल बाहेक अन्य सबै देशहरू समुद्री मार्ग र लेनहरूबाट सीधा जोडिएकाले द्विपक्षीय वा त्रिपक्षीय सम्झौता गर्न आवश्यक रहेको बताउनु भयो ।
नेपालले आफ्नो ऊर्जा उत्पादन बढाइरहेको छ, यदि यो उदीयमान सम्भावित उत्पादन सदस्य राष्ट्रहरूलाई सौहार्दपूर्ण सम्झौतामा बेच्न सकियो भने यो क्षेत्रको आर्थिक समृद्धिको लागि सम्भावित गेम चेन्जर साबित हुने धारणा राख्नु भयो । उप–क्षेत्र भित्र व्यापारको सहज प्रवाहको लागि यातायात जडान अर्को क्षेत्र भएको भन्दै सडक सञ्जालमार्फत नेपालको दक्षिणपूर्वी एसियासँगको सम्पर्क सदस्य राष्ट्रहरूबीच ठूलो सम्भावना रहेको उल्लेख गर्नु भयो । उहाँले व्यापार, लगानी प्रवद्र्धनका लागि बिमस्टेक चेम्बर अफ कमर्सको स्थापना गर्न जरुरी रहेको बताउनु भयो । उहाँले बिमस्टेक चेम्बर अफ कमर्सको स्थापनासँगै सदस्य देशहरुमा व्यापार र लगानी प्रवद्र्धनमा चेम्बरले सहजिकरण गर्ने उल्लेख गर्नु भयो ।

