ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

जेठ ४, इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क तथा वित्तीय संस्थाहरूको ऋण लिएर तिर्दैन भन्न नमिल्ने बताउनुभएको छ ।

फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । केही व्यक्तिहरूले ऋण मिनाहाको कुरा उठाएर ऋणीहरूलाई उक्साउने काम गरेको भन्दै उहाँले तर त्यो असम्भव कुरा भएको बताउनुभयो । दुर्गा प्रसाईँ, मणिराम ज्ञवाली जस्ता व्यक्तिहरूले गलत अभियान लिएर अगाडि बढेको भन्दै मन्त्री चौधरीले यसले ऋणीहरूलाई झन् समस्यामा पार्ने बताउनुभयो ।

यस्ता खाले गतिविधिले मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाउने भन्दै उहाँले सही तरिकाले कसरी समस्या समाधान गर्ने भन्ने कुरा लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । ‘सही तरिकाले सही माग लिएर अगाडि बढेमा राम्रो हुन्छ । तर अर्थतन्त्र नै ध्वस्त गराउन खोज्छ भविष्यमा त्यो आफैँ ध्वस्त हुन्छ । त्यसकारण हामीले अरूको बहकाउमा लागेर आफ्नो खुट्टामा आफैँ बन्चरो हान्नु हुँदैन’, मन्त्री चौधरीले भन्नुभयो, ‘हामी सुझबुझपूर्ण तरिकाले लाग्नुपर्छ । बरु तपाईँहरूले हामीलाई तपाईँहरूका सुख दुखबारे भन्नुस् । आफ्नो सुखदुख पनि भन्नुपर्छ । वित्तीय संस्था राम्रो हुनु भनेको सदस्यहरूकै कारणले भएको हो । सदस्यहरू यहाँ सहभागी भएर, तपाईँहरूले रिन लिएर न लघुवित्त फस्टाएको छ ।’

राष्ट्र बैङ्कले वित्तीय संस्थाको नियमन गर्ने भन्दै उहाँले राष्ट्र बैङ्कको नियमबाहिर गएर कुनै पनि वित्तीय संस्था जान नसक्ने बताउनुभयो । ‘अहिले लघुवित्त संस्थाहरू छ र त गाउँ(गाउँमा दिदीबहिनीहरूले सानोतिनो ऋण लिएर व्यवसाय गर्न पाउनुभएको छ । अन्य साना तिना खर्च चलाउन पाउनुभएको छ’, मन्त्री चौधरीले भन्नुभयो । देशभर ५९ लाख व्यक्तिहरू लघुवित्तमा आबद्ध रहेको भन्दै मन्त्री चौधरीले केही व्यक्तिहरूले चर्चाका निम्ति ऋण मिनाहाको माग लिएर हिँडिरहेको बताउनुभयो ।

संस्थालाई पनि जोगाउनुपर्ने भन्दै मन्त्री चौधरीले अर्थतन्त्रलाई समस्यामा पार्नेखालको गतिविधि गर्न नहुने बताउनुभयो । ‘अर्थतन्त्र नै ध्वस्त हुने खालको गलत माग राख्‍ने कुरा राम्रो होइन । त्यो औचित्यविहीन छ, उहाँले भन्नुभयो, ‘त्यस कारणले राष्ट्र बैङ्कले यो हुनै सक्दैन । यो औचित्यविहीन हो भनेको छ ।’

 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.