काठमाडौं । गणितविज्ञ एवं वाल स्ट्रिटका सफल लगानीकर्ता जिम साइमन्सको ८६ वर्षको उमेरमा निधन भएको छ । अमेरिकाको म्यानहट्टनस्थित आफ्नै घरमा गत शुक्रबार उनको निधन भएको हो ।
उनले गणितका क्षेत्रमा क्वान्टम फिल्ड थ्यौरी, स्ट्रिङ थ्यौरी र कन्डेन्स्ड मेटर फिजिमक्समा महत्त्वपूर्ण भूमिका खेल्ने अध्ययन प्रकाशित गरेका थिए ।
पूरा नाम जेम्स ह्यारिस साइमन्स रहेका उनले सन् १९७५ मा ज्यामितिमा अमेरिकाको राष्ट्रिय पुरस्कार पाएका थिए । पछि ४० वर्षको उमेरमा उनले लगानीका क्षेत्रमा काम सुरु गरेका थिए । उनले रेनेसान्स टेक्नोलोजिज नामक लगानी व्यवस्थापन कम्पनी स्थापना गरेका थिए । गणितकै विज्ञता प्रयोग गरेर उनले यो कम्पनीलाई केही दशक वार्यिाक ६६ प्रतिशतसम्म नाफा कमाउन सफल बनाएका थिए । उनले सुरु गरेको गाणितमा आधारित कम्प्युटर पद्धतिको प्रयोगपछि अन्य कम्पनीले समेत थालेका थिए र लगानीकर्ताहरूलाई ठूलो मुनाफा दिन सफल भएका थिए ।
साइमन्सले आफ्नो माइको ठूलो रकम विश्वभर दान गर्दै आएका थिए । उनको परोपकारी संस्था साइमन्स फाउन्डेसनले नेपालमा समेत निक साइमन्स इन्स्टिच्युटबाट स्वास्थ्यका क्षेत्रमा सहयोग एवं योगदान गर्दै आएको छ ।
फोर्ब्सका अनुसार हाल उनको कुल सम्पत्ति ३१ अर्ब अमेरिकी डलरभन्दा बढी छ । सन् २००२ मा उनको छोरा निक साइमन्स नेपाल भ्रमणमा आएका थिए । त्यतिबेला उनले नेपालप्रतिको लगावबारे आमाबुवालाई भनेका थिए । सन् २००३ मा इन्डोनेसियामा निकको मृत्यु भएको थियो । त्यसपछि जेम्सले छोराको नाममा निक साइमन्स फाउन्डेसन र निक साइमन्स इन्स्टिच्युटमार्फत नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएका थिए ।

