इलाम उपनिर्वाचन : एमाले उम्मेदवार नेम्बाङ मतान्तर बढाउँदै

वैशाख १७, इलाम। प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा हालसम्म २० हजार पाँच सय ३६ मत गणना भइसकेको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर बढाउँदै लगेका छन्।

हालसम्मको मत गणनाअनुसार नेम्बाङले ९ हजार ४ सय ८४ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ६ हजार ६ सय ३१ मतसहित दोस्रो स्थानमा छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले चार हजार ९ सय ५१ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले एक हजार चार सय एक मत प्राप्त गरेका छन्। अहिले माङसेबुङ गाउँपालिका– १ को मतगणना भइरहेको छ। इलाम– २ मा फाकफोकथुम गाउँपालिकाका सबै सात वटा वडा, चुलाचुली र माङसेबुङ गाउँपालिकाका सबै छ÷छ वडा, माई नगरपालिकाका ६, ७ र ८ वडा, देउमाई नगरपालिकाका सबै नौ वडा र इलाम नगरपालिकाका ११ वडा (१० बाहेक) गरी ४२ वडा पर्दछन्।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रमा एमालेका सुवासचन्द्र नेम्बाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए।

कांग्रेस उम्मेदवार खड्काले २९ हजार नौ सय ६ मत ल्याएका थिए। त्यसबेला कांग्रेसका खड्का तत्कालीन सत्ता गठबन्धनबाट माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत साझा उम्मेदवार थिए। अहिले खड्का एक्लै चुनाव लड्दा एमालेका नेम्बाङलाई भने माओवादी केन्द्र, नेकपा र नेपाल परिवार दलको समर्थन रहेको छ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.