सरकारसँग छैन चिया परीक्षण गर्न आफ्नै ल्याब

वैशाख १६, काठमाडौँ ।  राष्ट्रिय चिया तथा कफी विकास बोर्डले शनिबार विभिन्न कार्यक्रम गरी २८ औँ राष्ट्रिय चिया दिवस मनाएको छ । नेपाल चियामा आत्मनिर्भर मात्र होइन, निर्यात गर्ने मुलुकमा पर्छ तर विडम्बना सरकारसँग गुणस्तर परीक्षणका लागि आफ्नो प्रयोगशाला (ल्याब) छैन ।

प्रयोगशाला स्थापनाका लागि बोर्डले प्रयास नगरेको होइन तर हालसम्म त्यो प्रयास सफल नभएको बोर्डका निमित्त प्रमुख दीपक खनालले बताउनुभयो । यद्यपि आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रिय मापदण्डको चिया तथा कफी परीक्षणका लागि (प्रयोगशाला) ल्याब स्थापना गर्ने सम्भावना देखिएको उहाँले बताउनुभयो ।

चिया निर्यात गर्नका लागि परीक्षण गर्दा भारतको ल्याबमा भर पर्नु परेको छ । आफ्नो ल्याब स्थापनाका लागि अर्थ मन्त्रालयसँग बजेटका लागि आग्रह गरेको बोर्डका निमित्त प्रमुख डा. दीपक खनालले बताउनुभयो । “हाम्रो साना साना प्रयोगशाला छन्, त्यसको परीक्षणलाई अन्तर्राष्ट्रिय मान्यता छैन, अन्तर्राष्ट्रिय मान्यता पाउने गरी आफ्नै ल्याब स्थापनाका लागि पहल गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयले प्रस्ताव माग गर्दा हामीले ल्याबको व्यवस्था गरिदिन प्रस्ताव गरेका छौँ, आशा छ अगामी आवमा ल्याब स्थापना हुन्छ ।”

अहिले पनि चिया तथा कफीको परीक्षण खाद्य तथा गुण नियन्त्रण विभागको ल्याबमा गराइरहेको बताउँदै उहाँले त्यहाँ पनि सबै प्रकारको परीक्षण सम्भव नभएको बताउनुभयो । गुणस्तरको बहानामा भारतले पटक पटक निर्यातमा अवरोध पु¥याउँदै आएको छ, हालै मात्र गुणस्तरको बहाना देखाउँदै बिर्तामोड नाकामा १७ ट्रक चिया रोकेको थियो तर सरकार तथा विभिन्न सङ्घ संस्थाको पहलमा हाललाई भारततर्फ गएका छन् तर समस्या अझै समाधान नभएको उहाँले बताउनुभयो ।

समस्या समाधानका लागि पहिलो कुरा अन्तर्राष्ट्रिय मापदण्डको आफ्नै ल्याबको आवश्यकता रहेको उहाँले बताउनुभयो । नेपाली चियाको गुणस्तर परीक्षणका लागि भारतको कोलकातास्थित सेन्टर फुड ल्याबमा जानु परेको छ, त्यसले व्यापारीलाई निकै झन्झट भइरहेको छ । आफ्नै देशमा ल्याब भइदियो भने चियाका धेरै समस्या समाधान हुने विश्वास बोर्डको रहेको छ । नेपालमा उत्पादन हुने चियामध्ये ९९ प्रतिशत चिया कोशी प्रदेशमै उत्पादन भएकाले त्यहाँ ल्याब स्थापना गर्नुपर्ने बताइएको छ । नेपालमा चिया उत्पादन गर्ने ३० वटा अर्थोडक्स र ३८ वटा सिटिसी ६८ वटा ठुला उद्योग सञ्चालनमा छन् तर गुणस्तर परीक्षण गर्ने अन्तर्राष्ट्रिय मापदण्डको एउटा पनि ल्याब नरहेको बोर्डका निमित्त प्रमुख खनालले बताउनुभयो ।

नेपालमा हाल २० हजार पाँच सय हेक्टरमा चिया खेती हुँदै आएको छ । त्यसबाट दुई करोड ८० लाख केजी चिया उत्पादन हुने गरेको बोर्डको तथ्याङ्कमा उल्लेख छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.