चैत २९, काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताएका छन् ।
सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगञ्ज तथा मालिगाउँले आज काठमाडौंमा आयोजना गरेको ‘लागुऔषध दुर्व्यसनी तथा साइबर अपराध न्यूनीकरणसम्बन्धी अन्तरक्रिया’ मा उनले ठमेल र दरबारमार्गलाई चलायमान बनाउन विशेष सुरक्षा योजना बनाइएको बताएका हुन् । ‘ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउनका लागि अपराध हुनसक्ने सम्भावित क्षेत्रको प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ, नेपाल प्रहरी र पर्यटक प्रहरीको जनशक्ति थप गरी उक्त बजारलाई चलायमान बनाउन नेपाल प्रहरी लाग्नेछ,’ उनले भने ।
एसएसपी खत्रीले पछिल्लो समय राजधानी काठमाडौंसहित देशभर लागुऔषध दुव्यर्सनी र साइबर अपराधको घटना बढेको भन्दै यसलाई नियन्त्रणका लागि काठमाडौं प्रहरीले काम गरिरहेको उल्लेख गरे । चालू आर्थिक वर्षमा सामाजिक सञ्जालको दुरूपयोग गर्ने ३७०० सय मुद्दा काठमाडौं प्रहरीमा दर्ता भएको उनको भनाइ छ । यस्तै, लागुऔषध दुव्यर्सनीसम्बन्धी देशभर चार हजारभन्दा बढी मुद्दा दर्ता भएको एसएसपी खत्रीले बताए ।
काठमाडौं महानगरपालिका वडा नं ४ का वडाअध्यक्ष दिनेश महर्जनले विस २०८१ सालमा वडाभित्रका बिग्रेका सबै सडकहरू कालोपत्र गरिसक्ने बताए । उनले लागुऔषध दुर्व्यसन र साइबर अपराधमा सजग रहन विद्यार्थीलाई आग्रह गरे । सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले चण्डोल, धुम्बाराही, बालुवाटार, चुनदेवी, टुँडालदेवीलगायतको क्षेत्रमा हुने विकृति, विसंगति अन्त्यका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको बताए ।
उनले समाजमा हुने लागुऔषध दुर्व्यसनी, साइबर अपराधलगायतको नियन्त्रणमा सामुदायिक सेवा केन्द्रले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको उल्लेख गरे । प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) अम्बरबहादुर थापा क्षेत्रीले पछिल्लो समय युवा पुस्ता लागुऔषध दुर्व्यसनी र साइबर अपराधमा फसेको भन्दै यसलाई न्यूनीकरणका लागि प्रहरीले समाज सँगको सहकार्यमा विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए ।
नेपाल सरकारका पूर्वसचिव श्यामप्रसाद मैनाली, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) अमरसिंह शाह, न्यूटन उच्च माविका प्राचार्य रामबहादुर थापालगायतले भोलिका दिनमा देश विकासको जिम्मा अहिलेका विद्यार्थीको भएकाले लागुऔषध दुर्व्यसनी र साइबर अपराधसँग टाढा रहन आग्रह गरेका थिए । रासस

