बागमति प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

चैत १९, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । उनले १६ महिनाको अवधिमा तेस्रो पटक विश्वासको मत पाएका हुन् । माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेलले सत्ता समीकरणमा आएको फेरबदलसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि सोमबार प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् ।

सोमबार प्रदेशसभामा कुल १ सय ८ सदस्यको उपस्थित थियो । ती मध्ये जम्कट्टेलको पक्षमा ५६ र विपक्षमा ३७ मत खस्यो । १५ सांसद भने तटस्थ बसे । नेकपा माओवादी केन्द्रका २१, एमालेका २७ (उपसभामुख सहित), एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ गरी ५६ सांसदले जम्कट्टेलको पक्षमा मत दिए । कांग्रेसका ३७ सांसदले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मत दिए । यस्तै राप्रपाका १३ र नेमकीपाका ३ सांसद तथस्ट बसे ।

सोमबारको प्रदेशसभा बैठकमा जम्कट्टेलले नेपालको संविधानको धारा १८८ को उपधारा ९४० एवम् प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम आफूलाई संसदको विश्वासको मत भएको जाँच गर्न विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए । सो प्रस्तावलाई सभामुख भुवन पाठकले मत विभाजनपछि निर्णयार्थ प्रस्तुत गर्दा ५६ सांसदको मत पाएका हुन् ।

१ सय १० सदस्यीय प्रदेशसभामा सरकार टिकाउन आवश्यक कुल ५६ सांसदको विश्वासको मत पाउनु पर्ने व्यवस्था छ । मुख्यमन्त्री जम्कट्टेलले पहिलो पटक २०७९ माघ ३ मा विश्वासको मत लिएका थिए । तत्कालिन समयमा उनले एमाले माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको गठबन्धनबाट विश्वासको मत पाएका थिए । सो समयमा मुख्यमन्त्री जम्कट्टेलले कांग्रेससमेत गरी १ सय ५ सांसदको विश्वासको मत पाएका थिए । त्यतिबेला उपस्थितमध्ये नेमकिपाले मात्रै उनलाई मत दिएको थिएन ।

मुख्यमन्त्री जम्कट्टेलले गत २०७९ चैत १० मा दोस्रो पटक संसदबाट विश्वासको मत प्राप्त गरेका थिए । प्रदेशसभाको सो बैठकबाट उनको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ६७ मत प्राप्त गरेका थिए । उनलाई त्यतिबेला कांग्रेस, माओवादी र एकीकृत समाजवादी सहित हाम्रो नेपाली पार्टीबाट विश्वासको मत प्राप्त भएको थियो । उनको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा १७ जना सांसदले हस्ताक्षर गरेका थिए भने ७ जना सांसदहरु तथस्ट बसेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.