बहुमूल्य बस्तु ठगी गरेको आरोपमा गोरखाका अश्विन दानी पक्राउ

चैत ११, काठमाडौं । मुगा माला, टल्कने पत्थर लगायतका बहुमुल्य बस्तु ठगी गरेको आरोपमा गोरखाका दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ नारेश्वरका २३ बर्षीय अश्विन दानी र भिमसेन थापा गाउँपालिका–८ का २५ बर्षीय अर्जुन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दानी गोरखाको पत्रकारिता क्षेत्रमा रहेर केही समय काम समेत गरेका थिए । उनीहरुसँगै कपिलवस्तुका २७ बर्षीय इमान सिं सुनारलाई पनि पक्राउ गरिएको कार्यालयका निमित्त प्रमुख डिएसपी खगेन्द्रबहादुर खड्काले बताए । डिएसपी खड्काका अनुसार गत फागुन ३० गते मुगा माला र टल्कने पत्थर किन्न भन्दै उनीहरु नुवाकोटको बिदुर नगरपालिका–७ महादेवखर्कस्थित चन्द्रबहादुर तामाङको घरमा पुगेका थिए ।

‘घरमा पुगेर सामान हेरेछन्, ३५ लाखमा किन्ने फाइनल डिल पनि भएछ,’ उनले भने, ‘तर अन्तमा पैसा नदिई सामान लिएर भागेछन् ।’ तामाङले प्रहरीमा खवर गरेपछि प्रहरीले उनीहरुको खोजी कार्य तिव्र पारेको थियो । फोन ट्रयाकको आधारमा काठमाडौंको वालुवाटारस्थित उनीहरुकै कोठाबाट तीनै जनालाई पक्राउ गरिएको डिएसपी खड्काले बताए । ‘ठगी भएको खवर आएपछि हाम्रै योजनामा तामाङलाई अरु पत्थर पनि छ भन्दै उनीहरुलाई लिन आउनु भनेर बोलाउन लगायौ ।

त्यही क्रममा हामीले उनीहरुको फोन ट्रयाक गर्दै लोकेसन पत्ता लगायौ,’ उनले भने । ठगी गरेको सामान सहित उनीहरुलाई पक्राउ गरिएको डिएसपी खड्काले बताए । उनीहरुको साथबाट ठगी गरेको मुगा माला चार थान, सि माला दुई थान, आर माला र टल्कने पत्थर नौ थान समेत बरामद भएको उनले जानकारी दिए । उनीहरु बिरुद्ध ठगी मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.