सभामुखलाई सीआइबीको पत्रः सांसद चौधरीमाथि अनुसन्धान भइरहेको छ

चैत ७, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रतिनिधसभा सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीमाथि छानबिन भइरहेको विषयमा सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।

ब्युरोका अनुसन्धान अधिकृत प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बुधबार सभामुखलाई पत्र लेखेर सांसद चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएका हुन् । पत्रमा काठमाडौं महानगरपालिका–३ को कार्यालय र नवराज शर्मा समेतको जाहेरीले अनुसन्धान प्रक्रिया अगाडि बढेको उल्लेख छ । सभामुखलाई सीआईबीइले लेखेको पत्रमा भनिएको छ, ‘सरकारी जग्गा कीर्ते गरी ठगी गरेको मुद्दामा फुटवेयर लिमिटेडका संस्थापक शेयर धनी तथा तत्कालीन संचालक समिति सदस्य संघीय संसद्का माननीय सदस्य श्री विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भई रहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ ।’

नेपाल सरकार वादी रहेको उक्त मुद्दामा अजित नारायणसिंह थापासमेत भएको बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम राखेको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका–३ स्थित १० रोपनी जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेर सरकारी जग्गा कीर्ते गरी ठगी गरेको भन्दै अनुसन्धान भइरहेको हो ।

यसअघि सीआइबीले तीन महिना बढी समय अनुसन्धान गरेर उक्त सरकारी जग्गा निजीकरण गरेको फेला पारेको भन्दै तीन जनालाई पक्राउ गरेको थियो । कारखानालाई प्राप्त जग्गामध्ये १० रोपनी जग्‍गा लिएर त्यहाँ सिजी चाँदवाग रेजिडेन्सी बनाइएको थियो । त्यसबारे सीआइबीले पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो । जसक्रममा उनीहरूले १० रोपनी मात्रै नभएर त्यहाँ रहेको १८ रोपनी जग्गा नै हडप्न खोजेको सिआइबीले बताएको थियो । पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतले सुरूमा चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

गत माघ २२ गते म्याद थपका लागि अदालतमा पेस गर्दा न्यायाधीश यज्ञप्रसाद आचार्यले दुई दिनमा अनुसन्धान सकेर पेस गर्नु, नसके हाजिर जमानीमा छाड्न आदेश दिएका थिए । आदेशअनुसार माघ २४ गते उनीहरू सिआइबी हिरासतबाट मुक्त भएका थिए । त्यसपछि सरकारले मालपोत कार्यालय डिल्लीबजारमार्फत् उक्त जग्गा फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको थियो ।

मालपोत कार्यालय डिल्लीबजारले १० रोपनी जग्गा फिर्ता गर्न गत माघ २५ गते च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदवाग रेसिडेन्सी प्रालि) बाँसबारीको नाममा पत्र काटेको थियो । मालपोतले २१ दिनभित्र प्रतिनिधि कार्यालयमा हाजिर हुनू र नआएमा कानुनबमोजिम हुने भन्दै पत्र काटेको थियो । टोखा नगरपालिका–६ का अध्यक्षको रोहबरमा चाँदवागका सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरको नाममा पत्र काटेको थियो । उक्त पत्रको विरूद्धमा सञ्जयले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यो मुद्दा अदालतमा विचाराधीन छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.