फागुन १५, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०÷ ८१ को साउनयता विद्युत् वितरणतर्फका ९ वटा सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।
प्राधिकरणले विद्युत् ग्रिड सबस्टेशनबाट वितरण सबस्टेशनसम्म विद्युत् पुर्याउन र वितरण सबस्टेशनबाट उपभोक्ताकोसम्म विद्युत् पुर्याउन ३३ तथा ११ किलोभोल्ट (केभी) र ४०० भोल्टका लाइनहरु पनि निर्माण गरी सञ्चालनमा ल्याएको छ । साथै वितरण ट्रान्सफर्महरुपनि जडान गरिएको छ । साउनबाट हालसम्म वितरणतर्फका ३३÷ ११ केभी क्षमताका ९ वटा वितरण सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । यसबाट सबस्टेशन निर्माण क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुनुका साथै चुहावट पनि घटेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् उपलब्ध गराउन देशभरी नै वितरणतर्फका लाइन र सबस्टेशन निर्माण अभियानकै रुपमा चलिरहेको बताए ।
‘विद्युत् नपुगेका ठाउँमा विद्युतीकरण गर्न र पुगेका ठाउँको आपूर्तिलाई सुधार गर्न वितरण प्रणालीको विस्तार र सुदृढीकरण व्यापक रुपमा गरिरहेका छौं’, कार्यकारी निर्देशक घिसिङले भने, ‘संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरु तथा औद्योगिक क्षेत्रको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय र भविष्यमा बढ्ने मागलाई सन् २०५०को समयमीमा निर्धारण गरी उच्चस्तरको भरपर्दो र विश्वसनीय विद्युतीय भार बोक्न सक्ने प्रसारण र वितरणतर्फका लाइन र सबस्टेशनहरु चरणबद्ध रुपमा निर्माण अगाडि बढाइसकेका छौं ।’
घिसिङले यसका लागि अहिले सञ्चालनमा रहेका प्रसारण तथा वितरण लाइन र सबस्टेशनको स्तरोन्नति तथा सुदृढीकरण र नयाँ प्रसारण लाइन र सबस्टेशनको निर्माण सुरु गरिएको बताए । प्राधिकरणले इलामको पश्चिम क्षेत्र र पाँचथरमा विद्युत् आपूर्तिका लागि ३३/११ केभीको चिसापानी सबस्टेसन, मकवानपुरको बागमती तथा बकैया गाउँपालिकामा विद्युत आपूर्तिका लागि क्षतिवन सबस्टेशन, म्याग्दीको मङ्गला, मालिका तथा धौलागिरी गाउँपालिकामा विद्युत् आपूर्तिका लागि दरबाङ सबस्टेशन र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को बुलिङटार गाउँपालिका क्षेत्रमा विद्युत् आपूर्तिका लागि बोझपोखरी सबस्टेशन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

