भदौ २५, काठमाडौं । सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वका नेकपासहित सबै असन्तुष्ट र द्वन्द्वरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ ।
सरकारद्वारा गठित सरकारी वार्ता टोलीले आज सिंहदरवारमा पत्रकार सम्मेलन गरी द्वन्द्वद्धरत सबै पक्षलाई वार्तामा आउन औपचारिक रुपमा आह्वान गरेको हो । पत्रकार सम्मेलनमा सरकार सबै प्रकारका द्वन्द्व अन्त्य गरी सहमतिका माध्यमबाट शान्ति, सहिष्णुता र सद्भाव कायम गरी समावेशी, समतामुलक, न्यायपूर्ण र अग्रगामी राज्य निर्माण गर्न तयार रहेको वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले जानकारी दिए । सरकारले नेपाल सरकार असहमति, विवाद र द्वन्द्वलाई वार्ताकै माध्यमबाट टुङ्गो लगाउन तयार रहेको बताए ।
वार्ता टोली संयोजक पाण्डेले संक्रमणकालिन अवस्थाका र पछिल्लो समयमा समेत रहेका र देखिएका असन्तुष्टि र असहमतिहरुलाई वार्तामार्फत सहमति र सम्झौता गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए । सरकारले गत भदौ ८ गते सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

